आज दशैंको सप्तमी तिथी अर्थात फूलपाती, यसरी भित्य्राउनुहोस फूलपाती

October 16, 2018 |Pahiloclick

काठमाडौँ: आज दशैंको सातौं दिन (सप्तमी) अर्थात घर घरमा फूलपाती गरी यसलाई भित्र्याउने चलन छ। यस दिन नेपालि सेनाले सैनिक मन्च टुँडिखेलमा फूलपाती बढाइं गर्ने परम्परा रहिआएको छ।

भक्तजनहरुले आज आआफ्नो घरमा सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।

घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।

केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर प्रत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्कारका साथ फूलपाती ल्याउने गरिन्छ ।
घटस्थापना देखि दशैंको विधिवत सुरुवात हुन्छ । घटस्थापनाको दशौं दिनमा टिका । अर्थात आफन्त, गन्यमान्यबाट टीका थाप्ने दिन । यसलाई विजय दशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय ।

दशैं सुरुभएदेखि हरेक दिनको आ-आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । हाम्रो जीवन पद्दतिलार्इ सुखदायी, प्रेममय बनाउने सूत्र पनि छ यसमा । दशैं-संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर हाँस्न र बाँच्न प्रेरित गर्छ, संयमित र सन्तुलित जीवन ।