पेट्रोलियमको भाउ अत्यधिक बढेपछि निर्माण व्यवसायीको चेतावनी- ‘गौरवका आयोजनाको काम रोक्छौं’

June 21, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि पछि राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य बन्द गर्ने अवस्थामा पुगेको निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले पटकपटक इन्धनको मूल्यवृद्धि भइरहेको भन्दै आगामी दिनमा निर्माणाधी राष्ट्रिय गौरवका आयोजनाहरुको काम बन्द गर्ने अवस्था आएको बताएका छन्। साथै अति जरुरीका निर्माण परियोजनाहरु पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघले जनाएको छ।

महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै मूल्यवृद्धिले निर्माण सामग्रीको मूल्य पनि आकासिएको भन्दै निर्माण कार्य ठप्प हुने जनाएको छ। ्

सरकारले निर्माण व्यवसायीहरुलाई कुनै प्रकारको राहत दिन नसकेको भन्दै समग्र निर्माण उद्योगको विकास प्रति सरकार उदाशीन बनेको आरोप महासंघले लगाएको छ। चर्को मूल्यवृद्धिका कारण व्यवसायीहरुले घरजग्गा धितोमा राखेर गरेको लगानी जोखिममा परेकाले परिवारकै विचल्ली हुने अवस्था आएको गुनासो व्यवसायीहरुको छ।

मूल्यवृद्धि समायोजनको विषयमा सरकार र निर्माण व्यवसायीबीच वार्ता भइरहेको अवस्थामा आइतबार राती भएको मूल्यवृद्धिले महासंघ स्तब्ध बनेको विज्ञप्तीमा उल्लेख छ।

सरकारले बीमा निर्देशिका-२०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भएर बिमा कम्पनीलाई पोस्ने काम सरकारले गरेको महासंघको आरोप छ। उक्त निर्देशिकामा ट्यारिफलाई ननट्यारिफ नगरेको खण्डमा महासंघ बीमा समितिविरुद्ध पुन: आन्दोलनमा जाने चेतावनी निर्माण व्यवसायीहरुको छ।

यस्तै सार्वजनिक निकायहरुले बैंक ग्यारेन्टी दाबी गरी ठेक्का तोडी कालोसूचीमा राख्न सिफारिस गर्ने जस्ता कार्य गरेकोमा समेत महासंघले आपत्ति जनाएको छ। सरकारले समयमै समस्याको समाधान नगरे फेरी कन्स्ट्रक्सन होलिडेलगायतका आन्दोलनहरुलाई निरन्तरता दिने महासंघले जनाएको छ।