सेयर बजारमा वृद्धि कायमै, नेप्से १९ अंकले बढ्यो

January 10, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौ: सेयर बजारमा बृद्धि सोमबार पनि कायम रह्यो। यद्यपी आइतबारको तुलनामा सोमबार सूचक फराकिलो अन्तरले नबढे पनि २० अंक हाराहारीले बजार उकालो लागेको छ।

पुस मसान्तसम्म अग्रिम आयकर भुक्तानी गर्नुपर्ने दबाब र गभर्नरले तरलता चर्किन सक्ने संकेत दिएपछि लगानीकर्ताले बढिरहेकै बजारमा नाफा सुरक्षित गर्ने रणनीति अपनाएको ब्रोकरहरु बताउँछन्।

आइतबार ७३.०१ अंकको छलाङले माथि पुगेको नेप्से सोमबार १९.४३ अंकले उक्लिएको छ। नेप्से परिसूचक २७८४.९५ को विन्दुमा कायम छ।

२७७० माथि नै ओपनिङ्ग लिएको नेप्सेले २८०० को विन्दुलाई निरन्तर परिक्षण गरेको थियो। यद्यपी यो विन्दु पार गरे पनि त्यसमा कायम रहन सकेन।

ओपनिङ्गपछि निकै उतारचढाव आएको नेप्से बन्द हुनु अघि भने उचाइबाट तीव्र रुपले तल आएको थियो। सोमबार कारोबार रकमले भने निरन्तरता पाएको छ। दिनभरीमा ७ अर्ब १२ करोड रुपैयाँको किनबेच भएको छ।

दिनभरीमा १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच भएका छन् र कारोबार संख्या ७७ हजार १८३ रहेको नेप्सेले जनाएको छ।

सोमबार नेप्से ०.७ प्रतिशतले वृद्धि हुँदा अन्य उपसमूहका लगानीकर्ता सर्वाधिक लाभांवित भएका हुन्। यो उपसमूह झन्डै साढे पाँच प्रतिशतले बढेका छ। वित्त उपसमूहले ३.३१ प्रतिशतको वृद्धि लिएको छ।

बैंकिङ, होटल तथा पर्यटन र उत्पादन र प्रसोधन उपसमूह भने घटेका छन। कारोबारका आधारमा आज गुर्खाज फाइनान्स शिर्ष स्थानमा रह्यो। कम्पनीको २२ करोड अधिकको कारोबार भएको छ। यो कम्पनी ७.११ प्रतिशतले बढेको छ।

सर्वाधिक कारोबार भएको अर्को कम्पनी एनटिसी हो। कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। आज कम्पनीको सेयर ५.४१ प्रतिशतले वृद्धि भएको छ।

विगत केहि दिनदेखि लगातार सर्वाधिक कारोबार भइरहेको अपि पावरको यस दिन भने १९ करोडको कारोबार भएको छ।

आइतबार सर्वाधिक १० प्रतिशतमध्ये भोटेकोशी जलविद्दुतको मूल्य बढेको छ। युनियन हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंक पनि सर्किट लेभलमा नै कारोबार भएका छन्। सर्वाधिक गिरावट प्रभु सेलेक्ट फण्डको ३ प्रतिशत अधिकले मूल्य घटेको छ।