नेपाल समूह स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुनेबारे छलफल गर्दै

July 13, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ:

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुनेबारे छलफल गरिरहेको छ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई  प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन्।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ।

एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो। तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताए।

नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए। एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो।

आजको बैठकमा जाने/नजानेबारे भने छलफल भइरहेको नेपालनिकट एमाले उपमहासचिव घनश्याम भुसालले जानकारी दिए।

‘बैठक दिउँसो हो, जाने/नजानेबारे हामी छलफल गरिरहेका छौं,’ उनले भने।

एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ।

यसअघि सोमबार स्थायी कमिटी बैठक बोलाइएको थियो। सर्वोच्चको फैसला आएपछि हिजोको बैठक औपचारिक रूपमा बस्न सकेन।

नेपालनिकट उपाध्यक्ष भीम रावल बैठकको समयमा बालुवाटार पुगेका थिए। उनले आफू बैठकका लागि नभई कार्यदलले तयार पारेको सहमति पत्र अध्यक्ष ओलीलाई बुझाउन आएको बताएका थिए।

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले अदालतकै गरीमा बढाएको बताएका छन् भने ओली समूहले यसलाई जस्केलाबाट निर्दलियता छिरेको ठहर गरेको थियो।