‘हामीलाई मन्त्री, प्रधानमन्त्री हुने हतारो छैन्’- भीम रावल

February 28, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए। ‘अदालतबाट प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ। तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो। केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन्,’ उनले भने।

उनले आफूहरूको मुख्य लडाई भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए। उनले भने, ‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो। देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो।’

उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरू अघि बढेको पनि स्पष्ट पारे। रावलले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे। उनले भने, ‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ। केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ। पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन्।’

नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले हिजो क्लबकै साक्षात्कारमा पार्टीको ह्विप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाए। उनले भने, ‘हिजोसम्म कारबाही नगरेको एक जना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन्, बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ। हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए।’