माटोको डिजिटल नक्शा सार्वजनिक,घरमै बसेर माटोको परीक्षण गर्न सकिने

February 24, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले माटोको डिजिटल नक्शा सार्वजनिक गरेको छ ।

उक्त डिजिटल नक्शा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरे ।

माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगारिक पदार्थको मात्रा, बनोट आदि जस्ता विभिन्न गुण कृषकलाई सहजै जानकारी दिने उद्देश्यले नेपालमा डिजिटल नक्शा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

साथै, उक्त नक्शांकनको आधारमा कृषकले आफ्नो जग्गामा मलको मात्रा के कति मात्रामा प्रयोग गर्ने, कस्तो बाली लगाउने र माटोको कसरी सुधार गर्नेलगायतका विषयमा निर्णय लिन सक्ने मन्त्रालयको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस किसिमको माटोको डिजिटल नक्शा तयार गर्ने दक्षिण एसियामै नेपाल पहिलो भएको बताए । उनले डिजिटल म्यापिङकोे शुरुवातीसँगै नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको दावी गरे ।

‘डिजिटल माटोको नक्साले कुन ठाउँमा कस्तो उत्पादन गर्ने र उर्वराशक्ति कस्तो अवस्थामा रहेको छ भन्ने थाहा पाउन सकिन्छ ’ उनले भने । उक्त नक्शाबाट घरमै बसेर पनि माटोको अवस्था थाहा पाउन सकिन्छ ।

‘आफ्नो जमिनको माटोको बारेमा आफैलाई थाहा नभएको अवस्थामा टेलिफोनबाट यससँग सम्बन्धित विज्ञसँग सम्पर्क गरेर पनि जानकारी लिन सक्नेछन्’ ओलीले भने । यस्तै, सर्च इन्जिन गुगलको सहयोगमा पनि यस प्रविधिको सदुपयोग गर्न सकिने प्रधानमन्त्री ओलीले बताए ।

हाल नेपालमा ६५ प्रतिशत जनसंख्या कृषिमा आबद्ध भएता पनि कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत मात्रै योगदान रहेको भन्दै कृषिमा आधुनीकिकरणको प्रयोगबाट योगदानमा वृद्धि गर्नुपर्ने ओलीको भनाइ छ ।

जनशक्ति कृषिबाट पलायन भएता पनि कुनै चिन्ता नलिनुपर्ने भन्दै आधुनिकरणमा ध्यान दिई अगाडि बढ्नुपर्ने बताए ।

कृषि मन्त्री पद्माकुमारी अर्यालले सार्क मुलुकमै पहिलो पटक यस्तो प्रविधि भित्र्याउन सफल भएको भन्दै यसको विकासले कृषिमा फड्को मार्न सक्ने बताइन् ।

उनका अनुसार सरकारले भित्र्याएको प्रविधिलाई कसरी सदुपयोग र विकास गर्न सकिन्छ भन्ने नै मुख्य चुनौतीको विषय बनेको उनको भनाइ छ ।

मन्त्री अर्यालले आगामी दिनमा कृषिलाई मुख्य पेशाको रुपमा विकास गर्न फर्म सञ्चालन गर्दै सामूहिक कृषिमा प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिन् ।