चन्द्रागिरी हिल्सको आईपीओमा रेकर्ड ब्रेक आवेदन, साढे १२ लाख धेरैले गरे आवेदन

January 12, 2021 |Pahiloclick

काठमाडौँ: चन्द्रागिरी हिल्स लिमिटेड (CGHL) को आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । कम्पनीको आईपीओ बिक्री हुने अन्तिम दिन साँझ ५ बजेसम्ममा नै साढे १२ लाख बढीले आवेदन गरेका हुन् । यो हालसम्म निष्कासन भएका आईओमा परेको उच्च आवेदन हो ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ जारी गरेको थियो । गत शुक्रबारदेखि निष्काशन भएको आईपीओमा मंगलबार साँझसम्म १२ लाख ५१ हजार १० वटा आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १७.५३ गुणा बढी हो ।

कम्पनीले प्रति कित्ता १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिने व्यवस्था थियो । चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।