सञ्चारकर्मी थापाको तीजको कोशेली ‘माइतीको आँगनी’ सार्वजनिक

August 19, 2018 |Pahiloclick

काठमाडौँ: हिन्दु नारीहरुको सांस्कृतिक पर्व तीज नजिकिँदै जाँदा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढी रहेको छ । तीजका गीतहरु सार्वजनिक गर्ने कलाकारहरुको भीडमा सञ्चारकर्मी सिर्जना थापा (खनाल) पनि उभिएकी छन् । लोक गायिका थापाले तीजको कोशेली स्वरुप माइतीको आगनी बोलको तीज गीत दर्शक तथा स्रोता माझ लिएर आएकी छन् ।

‘माइती घरको आँगनी’ बोलको तीज गीतमा ढल्की–ढल्की नाचौँ भन्दै नव गायिका थापाले ल्याएको गीत दर्शक–स्रोतले युट्युबमा समेत हेर्न सक्ने छन् । गायिका थापाको आफ्नै स्वर, शब्द र संगीत गरेको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

तीजमा माइत जान पाउँदाको खुशीलाई गायिका थापाले गीतमार्फत प्रस्तुत गरेकी छन् । गीतको भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका छन् भने हरिनारायण चौधरी छाँयाङ्कन गरेका छन् । विवेक खड्काले सम्पादन गरेको भिडियोलाई दर्शकले युट्युबमा निकै नै रुचाएको पाइएको छ ।

यसअघि, २०५९÷६० तिर लोकभाकाको ‘हिउँचुलीमा घाम’ एल्बममा समावेश थापाको स्वर रहेको ‘पाल्पा धैरेनी’ र २०६८ मा आफ्नै एल्बम ‘उड्यो हवाईजहाज’ को ‘तानसेन राम्रो टुँडिखेलैले र ‘सानु म त आएँ तिम्रो छेउँ’ बोलको गीत निकै चर्चित भएको थियो ।