नुवाकोट र सिन्धुपाल्चोक भएर गुड्ने सबै यातायात ठप्प

नुवाकोटको विदुर नपा–१ मा पासाङल्हामु राजमार्गको गेर्खुखोलामा आइतबार विहान खोलाले भत्काएको पुल । तस्वीरः नवदीप श्रेष्ठ: रासस
August 19, 2018 |Pahiloclick

चौतारा : गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ ।

बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।

अरनिको राजमार्गमा पर्ने ४० फिट लामो सो पुल चीन सरकारले २०२४ सालमा निर्माण गरेको हो । बाढीका कारण सडक सतहभन्दा करीब पाँच फिटसम्म ढुङ्गा र माटो थुप्रिएको छ । खोलाको पानी घरभित्र पस्न थालेको छ । स्थानीयबासी बाढीका कारण त्रसित छन् ।

पहिरो पन्छाउन तीन स्काभेटर प्रयोग गरिएको छ । “पहिरो पन्छाउन समय लाग्छ,” प्रहरी निरीक्षक थापाले भने। पुलको ठाउँमा बेलीब्रिज राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय चारिकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले बताए।

पुल बगाएपछि खोर्लानीबारीका बासिन्दालाई दैनिक किनमेल गर्न बाधा पुगेको छ । पुल बगेपछि बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका बासिन्दा प्रभावित बनेका छन् ।
पासाङल्हामु राजमार्ग बन्द

नुवाकोट: पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।

आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ ।