उपत्यकाका अधिकांश स्थानीय तहमा विद्यालय खोल्ने तयारी

December 1, 2020 |Pahiloclick

 

काठमाडौँ: सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् ।

शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए ।

यसैगरी तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए ।

कीर्तिपुर नगरपालिकालले सङ्क्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले, दुईचार दिन विद्यालयमा पढाइ शुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताए ।

यता कागेश्वरी मनोहरा नगरपालिकाले मङ्सिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए ।