प्रचण्डले ओलीसँग एक्लै बालुवाटारमा नभेट्ने सन्देश पठाएको खुलासा

November 20, 2020 |Pahiloclick

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै बालुवाटारमा नभेट्ने सन्देश पठाएको खुलासा भएको छ।

कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै नभेट्ने सन्देश पठाएपछि शुक्रबार ओलीनिकट नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डसँग छलफल गरेको स्रोतले जनाएको छ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफल गर्न विभिन्न च्यानलमार्फत बोलाएका थिए।

तर, प्रचण्डले एक्लै बालुवाटारमा छलफल नगर्ने अडान लिएपछि महासचिव बिष्णु पौडेलले छलफलका लागि वातावरण बनाउन प्रयास गर्दै आएका थिए।

शुक्रबार मध्यान्ह १२ः१५ देखि अध्यक्ष प्रचण्डसँग ओलीनिकट सचिवालय सदस्य एव‌ं उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल छलफलमा जुटेका थिए।

तीन नेताहरुबीच छलफल सुरु भएको ४५ मिनेटपछि स्थायी समिति सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उक्त छलफलमा पुगेका थिए।