निर्यात नभएपछि गोदाममै थन्कियो चिज

November 13, 2020 |Pahiloclick

 

मङ्गलबारे: कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ।

महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्।

विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरू गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए।

नेपालका मुख्य बजारहरूमा कोरोनाका सङ्क्रमितहरू बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ।

लकडाउन र महामारीको शुरुआती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरूलाई पर्यटनको सिजन शुरु भएसँगै विक्रीमा समस्या भएको उनले बताए।

चिज विदेशी पर्यटकहरूले रुचाउने परिकार हो। मुख्य शहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शुन्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरूको भनाइ छ।

इलाममा वार्षिक २० करोड रूपैयाँ भन्दा बढीको चिज उत्पादन हुने गरेको छ।

व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन्। निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन्। यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो।

कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ।

तीन हजार लिटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा कोरोनाअघि दूध सङ्कलन हुने गरेको थियो तर कोरोना शुरु भएसँगै जिल्लामा सञ्चालित अन्य सरकारी चिज उद्योगसमेत बन्द गरिएको छ।

जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन्। विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ। जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजारलगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ।