कोरोना महाब्यादीको बेला ओरालो लाग्दै सिंहदरबार वैद्यखाना

November 9, 2020 |Pahiloclick

काठमाडौँ:
करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ ।

आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो ।

सरकारले २०५१ सालमा वैद्यखाना विकास समितिमार्फत सञ्चालनमा ल्याएको भए पनि वैद्यखाना झन खस्किँदै गएको छ । समितिले वैद्यखानाको विविधीकरण र विस्तार गर्दै १० वर्षमा २५ करोड रुपैयाँ बराबरको उत्पादन गर्ने लक्ष्य लिएको थियो । व्यवस्थापन पक्षले लक्ष्यअनुसारको योजना बनाउन नसक्दा उक्त लक्ष्य कागजमा मात्रै सीमित हुन पुगेको छ ।

विगतमा सिंहदबार वैद्यखानाले स्वदेशी जडीबुटी प्रयोग गरेर १८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आए पनि विगत दुई÷तीन वर्षदेखि २५÷३० प्रकारका औषधि मात्रै उत्पादन गरिरहेको वैद्यखानाका कर्मचारी बताउँछन् । कर्मचारीका अनुसार प्रबन्ध निर्देशकको लापरवाहीका कारण दिन प्रतिदिन वैद्यखानाको उत्पादनमा कमी आउँदै गएको छ । यसतर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण हुन नसक्नु ज्यादै दुःखद् विषय भएको कर्मचारीको भनाइ छ ।

वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले वैद्यखानालाई आफ्नो मनोमानी ढङ्गले सञ्चालन गर्दा उत्पादन न्यून भएको कर्मचारीको गुनासो छ । विगत एक वर्षदेखि शिलाजीतको मौज्दात सकिँदा पनि बोलपत्र आह्वान गर्न नसक्नु, आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोडभन्दा बढी जडीबुटीको टेण्डर हुँदा पनि झण्डै ५० प्रतिशत जडीबुटी मात्र खरिद गर्नु, बजारमा अत्यधिक माग हुँदाहुँदै पनि उत्पादन घटाउनुका कारण वैद्यखाना ओेरालो लाग्दै गएको बताइएको छ ।

भौतिक पूर्वाधारले सम्पन्न उद्योग धारासायी हुने अवस्थामा पुग्न लागेको भन्दै वैद्यखानाका कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित यस्तै आयुर्वेद उद्योग उत्पादनमा विविधीकरण गर्दै स्वदेश र विदेशमा बजार विस्तारमा सफल रहे पनि सरकारी लगानीको वैद्यखाना बन्द हुने अवस्थामा पुग्नुमा व्यवस्थापनकै कमजोरी रहेको कर्मचारीको ठहर छ ।

खर्च बढ्दो, उत्पादन घट्दो

वैद्यखानाको उत्पादन घट्दो र प्रशासनिक खर्च बढ्दो क्रममा छ । व्यवस्थापन पक्षले औषधिभन्दा प्रशासनतर्फ बढी रकम खर्च गर्ने गरेको बताइएको छ । वर्षमा झण्डै दुई करोडको हराहारीमा कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ । तर गत वर्षको उत्पादन हर्ने हो भन्ने त्योभन्दा पनि न्यून छ । औषधिको उत्पादन घट्नुमा प्रशासनिक खर्च बढ्दै जानु र उत्पादनमा न्यून बजेट विनियोजन गर्नु पनि वैद्यखाना ओरालो लाग्नुका मुख्य कारण हो ।

वैद्यखानाका योजना तथा तथ्याङ्क शाखाका अनुसार वैद्यखानाका उत्पादनको माग स्वदेशमा मात्र नभई विदेशमासमेत छ । निजी क्षेत्रको तुलनामा वैद्यखानाका उत्पादनको मूल्य र गुणस्तरसमेत प्रतिस्पर्धी रहेकाले बजारको समस्या छैन । बजारमा अत्यधिक माग रहेको शिलाजीत, च्यवनप्रास, पीडाहर मलहम, ताम्रचुडादीतैल, बाजीकरण शक्ति, अशोकारिष्टलगायत औषधिको अभाव हुँदा पनि सम्बन्धित निकाय मौन रहेको उपभोक्ताको गुनासो छ । यही अवस्था रहेमा वैद्यखानाको भविष्य सङ्कटमा पर्ने उनीहरुको भनाइ छ ।

निकट भविष्यमा वैद्यखानालाई कच्चापदार्थसमेत अभाव हुनसक्छ । समयमा जडीबुटी नपाउनु पनि सिंहदरबार वैद्यखानाको अर्को समस्या र चुनौती दुवै रहेको दाबी प्रवन्ध निर्देशक खरेलको छ । उहाँले भन्नुभयो, “सरकारले जडीबुटी प्रवद्र्धनमा चासो नदेखाएका कारण नै जडीबुटी अभावमा समस्या आएको हो ।”

उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । तर वैद्यखानाले त्यस्ता औषधिको उत्पादन माग अनुसार हुन सकेको छैन । प्रबन्ध निर्देशक डा खरेलले आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउनुभयो । बजारको माग अनुसार उत्पादनमा जोड दिएको उहाँको भनाइ छ ।

सिंहदरबार वैद्यखाना विकास समितिले नेपालभरिका सरकारी आयुर्वेदिक अस्पताललाई बर्सेनि ठूलोमात्रामा आयुर्वेदिक औषधि बिक्री गर्दै आएको थियो । तर पछिल्लो समय यसमा पनि उल्लेखनीय कमी आएको बताइएको छ ।