‘ओलीको मिसन थियो माओवादी समाप्त पार्ने, त्यसमा उनी सफल भएपछि प्रचण्डलाई अब जानुहोस् भनेका हुन्’

November 3, 2020 |Pahiloclick

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अब कुनै चमत्कार नभए पार्टी फुट्ने निश्चत देखिएको चर्चा हुन थालेको छ । नेकपाका शीर्ष नेताहरुले नै पार्टी फुटको संघारमा रहेको भन्न थालेका छन् ।

पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा केपी शर्मा ओली पक्षका नेताहरुले एक अर्कालाई दोषी देखाएर पार्टी फुटबाट जोगाउन आह्वान गरिरहेका छन् । तर आ–आफ्नो गल्ती भने कसैले स्वीकार गरेका छैनन् । एकता जोगाउन सार्वजनिक आह्वान गरे पनि भित्रभित्रै पार्टी फुटपछिको रणनीतिबारे पनि तयारी गरिरहेका छन् ।

‘माओवादी गणतन्त्र विरोधी, संघीयता विरोधी ओलीसँग किन एक हुन गयो ? प्रचण्डले आफ्ना सबै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विप्लवलगायतलाई छाडेर अ‍ोलीसँग एक्लै किन गए ? किनभने ओली प्रचण्डबाहेक अरुलाई लिन चाहँदैन थिए ।

माओवादीको मुख्य व्यक्तिमार्फत् नै माओवादी समाप्त गर्न सकियो भने जडैदेखि समाप्त हुन्छ भन्ने बुझेर उनले यस्तो गेम खेले । सोही मिसन पूरा भएपछि आज प्रचण्डलाई ‘अब जानुस्’ भने ।’

पार्टीको पछिल्लो विवाद हेर्दा नेकपाको एकताको आधार समाप्त नै भएको बताउँछन् वाम राजनीतिक विश्लेषक मुमाराम खनाल । उनले भने, ‘पार्टी जेका लागि गठन भएको थियो त्यसको आधार नै समाप्त भएको छ, त्यसैले यो पार्टी अब एक रहन्न ।’ उनका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएर मात्र नेकपा बनेको हो ।

यो बिचार खनालले रातोपाटी अनलाइनमा ब्यक्त गरेका हुन् ।

विश्लेषक खनाल भन्छन्, ‘दुई अध्यक्षको बीचमा दुईजना अध्यक्ष र दुवैजना प्रधानमन्त्री बन्ने सहमति भएको थियो । यदि संविधानले दुईटा प्रधानमन्त्रीको प्रावधान राखेको भए, दुवैजना प्रधानमन्त्री हुनुहुन्थ्यो । तर प्रावधान नभएको कारणले आधा आधा समय प्रधानमन्त्री बन्ने सहमति गर्नुभएको थियो ।अहिले त्यो सहमति कार्यान्वयन गर्नुपर्ने बेला आएपछि लफडा शुरु भएको हो । त्यसैले जुन आधारमा एकता भएको थियो, त्यो आधार नै समाप्त भएपछि अब एकीकरणकरणको औचित्य समाप्त भएको हो ।‘

नेकपाकै नेता अनुसार पार्टीमा १७ लाखदेखि १८ लाखसम्म नेता तथा कार्यकर्ताहरु रहेका छन् । तर एकीकरणको समयमा अरु कसैसँग पनि सल्लाह गरिएन । ‘दुईजना जादुगरले एकीकरण गरे, र आज त्यही दुई जादुगरको बीचमा लफडा शुरु भएको छ,’ उनी भन्छन्, ‘दुईटा पिलरले मात्र कहिल्यै घर बन्दैन् । त्यसका लागि अन्य सहायक पिलरहरु चाहिन्छन् । दुईटा पिलरमा मात्र घर ठडाउने प्रयास गरियो भने त्यो धेरै दिनसम्म टिकाउ हुँदैन ।’

‘ओलीको मिसन थियो माओवादी समाप्त पार्ने, त्यसमा उनी सफल भएपछि उनले प्रचण्डलाई अब जानुहोस् भनेका हुन्,’ खनालले भने, ‘माओवादी गणतन्त्र विरोधी, संघीयता विरोधी ओलीसँग किन एक हुन गयो ? प्रचण्डले आफ्ना सबै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विप्लवलगायतलाई छाडेर अ‍ोलीसँग एक्लै किन गए ? किनभने ओली प्रचण्डबाहेक अरुलाई लिन चाहँदैन थिए । माओवादीको मुख्य व्यक्तिमार्फत् नै माओवादी समाप्त गर्न सकियो भने जडैदेखि समाप्त हुन्छ भन्ने बुझेर उनले यस्तो गेम खेले । सोही मिसन पूरा भएपछि आज प्रचण्डलाई ‘अब जानुस्’ भने ।’