प्रम ओलीले पूर्वमाओवादीसँग छुट्टिन चाहेका केही प्रमाणहरु यस्ता छन्

November 1, 2020 |Pahiloclick

 

काठमाडौँ: पूर्वमाओवादी खेमाका नेताहरुको दाबीअनुसार केपी ओलीले माओवादीसँग सम्बन्ध विच्छेद गर्ने गृहकार्य थालेको केही प्रमाणहरु छन् ।

पहिलो प्रमाण : बालुवाटारमा शनिबार केपी ओली र प्रचण्डसँग भेटवार्ता भएकै दिन केही नेताहरु गोठाटारस्थित पुराना नेता प्रदीप नेपालको घरमा पुगेका थिए । प्रदीप नेपालसँगको यो भेटमा प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, डा. राजन भट्टराई र सूर्य थापाका साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेतको सहभागिता थियो । यो भेटलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘राजनीतिक शिष्टाचार भेट’ भनेका छन् ।

यो भेटमा प्रधानमन्त्री ओलीका दूत बनेर पुगेका नेताहरुले अब पूर्वमाओवादीसँग सँगै हिँड्न नसकिने अवस्था आएको भन्दै पूर्वएमालेहरुलाई मिलाउने भूमिका खेलिदिन प्रदीप नेपालसँग आग्रह गरेका थिए ।

खासगरी माधव नेपाल र केपी ओलीलाई एक ठाउँमा ल्याउनका लागि भूमिका खेलिदिन नेताहरुले प्रदीप नेपालसँग आग्रह गरेका थिए । नेपालले चाहिँ स्वास्थ्यका कारणले आफू खट्न नसक्ने जवाफ दिएका थिए । यो काममा महासचिव विष्णु पौडेललाई खटाउन नेपालले सुझाएका थिए ।

बालुवाटारबाट गोठाटार पुगेको टोलीले प्रदीप नेपालसमक्ष राखेको यो प्रस्तावले अब पार्टी फुट्ने ठाउँमा पुगेको स्पष्ट पारेको एक नेताले अनलाइनखबरलाई बताए ।

हुन त निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको अध्यक्ष बनिदिने प्रस्ताव लिएर बालुवाटारबाट नेताहरु प्रदीप नेपालको घरमा पुगेको पूर्वमाओवादी समूहका कतिपय नेताहरु दाबी गर्छन् । तर, स्रोतले यो दाबी अस्वीकार गर्दै भन्यो,‘माधव नेपाल र ओलीलाई मिलाइदिने प्रस्ताव लिएर चाहिँ नेताहरु त्यहाँ पुगेका हुन् ।’

दोस्रो प्रमाण : केपी ओलीले प्रचण्डसँग सम्बन्ध विच्छेद गर्न चाहेको अर्को प्रमाण हो महासचिव विष्णु पौडेलको फेसबुक स्टाटस । महासचिव पौडेलले पार्टी विभाजनको सँघारमा पुगेको संकेत गर्दै भनेका छन्, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

नेकपा स्रोतका अनुसार प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल लगायतका ओली पक्षका नेताहरु यो पाराले प्रचण्डसँग सहकार्य गरेर अगाडि जान नकिने निश्कर्षमा पुगेका छन् । तर, महासचिव विष्णु पौडेल भने अहिले पार्टी विभाजन गर्न नहुने र एक भएर अघि बढ्नुपर्ने पक्षमै छन् ।

आइतबार बिहानै बालुवाटारमा ओली पक्षका कोर टिमका नेताहरुको जमघट भएको थियो । त्यो जमघटले कर्णालीमा हुन लागेको मन्त्री फेरबदललाई रोकेको थियो । प्रधानमन्त्री ओलीले प्रदेश सरकार विघटन गरिदिने चेतावनी दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही पछाडि हटेको नेताहरु बताउँछन् । र, त्यहीँबाट प्रधानमन्त्री ओलीले प्रचण्डसँग फोन सम्वाद गरेर ‘आ–आफ्नो बाटो लागौं’ भन्ने प्रस्ताव दोहो¥याएका थिए ।

ओली पक्षका कोर नेताहरुको छलफलमा छुटेका अर्थमन्त्री एवं महासचिव पौडेल बिहान ढीलो गरी बालुवाटार पुगे । त्यहाँ प्रधानमन्त्रीको प्रस्तुती सुनिसकेपछि उनी एकाएक गम्भीर देखिए र फेसबुकमा स्टाटस लेख्दै पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको निश्कर्ष सार्वजनिक गरे ।

तेस्रो प्रमाण : पछिल्लो साता प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर दुईपटक सम्वाद गरिसकेका छन् । दुबैचोटिको सम्वादमा प्रधानमन्त्री ओलीले प्रचण्ड पक्षलाई पनि साथमा लिएर अघि बढ्नुको साटो पूर्वमाओवादी नेताहरु एक ठाउँमा उभिनुपर्ने प्रस्ताव राखेको नेपालनिकट नेताहरु बताउँछन् ।

ओली–माधव भेटबारे एक एथायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीमा कुनै रियलाइजेसन देखिँदैन । भदौ २७ को स्थायी कमिटी बैठकको निर्णय र कार्यदलले गरेको सिरफारिस अनुसार अघि बढ्ने चाहना प्रधानमन्त्रीमा देखिएन ।’

त्यसो त तीन दिनअघि मात्रै प्रचण्डलाई भेट्न खुमलटार पुगेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दुई अध्यक्षको सम्वादहीनताप्रति दिक्दारी मान्दै कहिलेकाहीँ त आफूलाई ‘सल्लाहबाटै आ–आफ्नो बाटो हिँडौंजस्तो लाग्छ’ भनेका थिए । त्यसपछि प्रचण्डलाई ओलीले बारम्बार यस्तै प्रस्ताव राख्न थालेको पूर्वमाओवादी खेमाका नेताहरु बताउँछन् ।