काठमाडौं: जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको मंगलवार बाँडफाड भएको छ। विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले साढे १० बजे फेसबुकमार्फत सेयर बाँडफाड गरेको हो।
क्यापिटलले २ लाख ७३ हजारजनालाई गोलप्रथाद्धारा १० कित्ताको दरले सेयर बाँडफाड गरेको छ। कम्पनीको आइपिओमा ७ लाख ९६ हजार ७३४ जनाले २ करोड १४ लाख ३९ हजार ३७० कित्ता आवेदन परेको थियो। जसमध्ये ४८ लाख ६४० कित्ता आवेदन रद्ध भएको छ।
बाँकी रहेका ७ लाख ९४ हजार ५४६ जनामध्ये २ लाख ७३ हजारले मात्र १० कित्ताको दरले सेयर पाएका छन्। ५ लाख २३ हजार ७ सय ३४ जनाको हात खालि भएको छ।
कम्पनीले असोज १ गतेदेखि १४ गतेसम्म सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता सेयर बिक्रि खुला गरेको थियो।
कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागी छुट्याइएको थियो। बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन्।
कम्पनीको अधिकृत पुँजी २ अर्ब र जारी पुँजी एक अर्ब छ। अब कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ।