सेनाले आफ्ना कोरोना संक्रमित सैनिकको उपचारका लागि छुट्टै आइसोलेसन कक्ष बनाउंदै

August 27, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: नेपाली सेनाले ब्यारेकभित्रै आइसोलेसन तयार गर्ने भएको छ। सम्भावित ठाउँहरुको अध्ययन गरेर आइसोलेसन निर्माणको सुरुवात गरिसकेको जंगी अड्डाले जनाएको छ।

संक्रमणको जोखिम बढ्दै गएपछि सैनिक अधिकारीहरुलाई ब्यारेकमै राख्ने गरी सेनाले यस्तो तयारी थालेको हो।

सेनासँग वीरेन्द्र सैनिक अस्पतालमा ७० बेडको आइसोलेसन, २० बेडको आईसीयू, १८ वटा फिल्ड एम्बुलेन्स उपलब्ध छन्। सेनाले आफ्नो अस्पतालमा साउन ७ गतेबाट पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो।

सैनिकहरुको वीरेन्द्र सैनिक अस्पतालमा परीक्षण गर्ने व्यवस्था छ। एक पटकमा ९४ जनासम्मको परीक्षण गर्न सकिने सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

हालसम्म ३ सय ८ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ। यीमध्ये १ सय १० जना निको भएर काममा फर्किसकेको प्रवक्ता पौडेलले बताए।

सेनाले ब्यारेकमा संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ। कोरोना संकट व्यवस्थापनमा खटिएका सैनिक संक्रमित भएका हुन्।

यसअघि ब्यारेकमा क्वारेन्टिन तयार गरेको सेनाले संक्रमण बढ्दै जाँदा आइसोलेसन समेत ब्यारेकभित्रै तयार गर्ने र लक्ष्यण नदेखिएका सैनिकलाई त्यहीँ राख्ने गरी तयारी गरिरहेको छ। नियमित स्वास्थ्य सेवालाई पनि निरन्तरता दिइरहेकाले आफ्नो स्वास्थ्यकर्मीको जनशक्तिलाई मध्यनजर गरेर आइसोलेसन तयार गर्ने प्रवक्ता पौडेलले बताए।

सशस्त्र प्रहरी अस्पतालका अन्य बिरामीलाई पनि सैनिक अस्पतालमै लगिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई सरकारले कोरोना संक्रमितको मात्रै उपचार गर्ने गरी प्रयोग गरिरहेको छ।

आफ्नो स्वास्थ्यकर्मीले धान्न सक्ने गरी आइसोलेसन तयार गर्ने सेनाको तयारी छ। सेनाका १८ वटा बाहिनीमा ७० जना स्वास्थ्यकर्मी कार्यरत छन्। यस्तै नेपालगन्ज पोखरा र इटहरीमा रहेका सैनिक अस्पतालमा एक सय जना स्वास्थ्यकर्मीको दरबन्दी छ। धनगढी र बर्दिवासका सामुदायिक अस्पताल पनि सैनिक स्वास्थ्यकर्मी छन्।

जोखिम न्यूनीकरण गर्न सेनाले बाहिर काममा खटिएर फर्किएका जनशक्तिलाई १४ दिन क्वारेन्टिनमा राखेर पीसीआर गरेपछि मात्रै समूहमा मिसाउने गरेको छ।