भेटघाटमा जाँदा कोरोना संक्रमण तिब्र रुपले बढेको छ, ‘नो’ भन्न सिकौं

August 23, 2020 |डा. रवीन्द्र पाण्डे

काठमाडौँ: औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन ।

– चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं । यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो । तीजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यमार्फत सुनेका छौं ।

– आफन्त वा चिनजान भएका व्यक्तिको मृत्यु भयो भने मलामी नगए के सोंच्लान ? भनेर मुख देखाउन भएपनि जाने औपचारिकताको कारण वीरगंज, बुटवल लगायतका धेरै ठाउँमा मलामीहरू संक्रमित भएका समाचार हामीले सुनेका छौं ।
– आफन्तलाई लामो समय भेट नगर्दा किन आएन भन्छन् भनेर भेट्न जाँदा संक्रमण आदानप्रदान भएका धेरै घटना छन् ।
– पहिले जमघट गर्ने, सरसहयोग गर्ने तथा आउजाउ गर्ने आफन्त तथा साथीहरुलाई यसो भेट्न पर्यो भनेर जाँदा संक्रमण सरेका घटना हाम्रो समाजमा धेरै छन् ।
– आफन्त वा छिमेकी बिरामी भएको बेला घरमा वा अस्पतालमा भेट्न नगए के सोच्लान ? भनेर बिरामीको घर वा भर्ना भएको अस्पताल गएपछि संक्रमित हुने सम्भावना बढी हुन्छ ।
– हाम्रा बिभिन्न संस्कारमा पटकपटक भेट गर्नुपर्ने प्रचलन छन् । ती प्रचलनमा सहभागी नभए के भन्लान् भनेर भेट्न जाँदा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ ।
– टोलमा हुने बैठक तथा भेलामा यसो मुख देखाएर आउंछु भन्दा संक्रमण सारासार भएका घटना हाम्रो समाजमा भइरहेका छन् ।
– बैठक, छलफल आदिमा मास्क लगाएर बस्ने तर मास्क खोलेर चिया, पानी तथा खाजा खाने प्रचलन जोखिमपूर्ण हुन्छ । त्यसैले बैठकमा चिया, खाजा तथा पानी खाने गल्ती गर्नुहुँदैन ।
– संगै फोटो खिच्दा मास्क खोल्ने, दुरी कायम नगर्ने तथा प्रत्येक जनाको मोबाइलबाट फोटो खिच्ने साइकल पुरा गर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । यस्तो गतिबिधि महामारीको समयमा नगरौं ।
– मिडियाले अन्तर्वार्ताको लागि स्टुडियोमा बोलाउँदा मन नलागि नलागि जाने तथा भेन्टिलेसन नभएको स्टुडियोमा लामो समय मास्क खोलेर तथा नजिकै बसेर चिच्याइ चिच्याइ बोल्दा संक्रमण हुने सम्भावना धेरै हुन्छ । प्रविधिको प्रयोग सबैभन्दा सुरक्षित उपाय हो ।
– जन्म, न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह, मृत्यु आदि नियमित प्रक्रिया हुन् ्र यो प्रक्रियामा हाम्रो उपस्थिति अनिबार्य हुँदैन । तर हामीले अनिबार्य ठान्छौं । यो भ्रमबाट महामारीको समयमा मुक्त भएर टेलिफोन तथा इन्टरनेटको प्रयोग गर्दा दुवै पक्ष सुरक्षित हुन्छौं ।
– जग पुजा, घरपुजालगायतका औपचारिकतामा हामी भौतिक रुपमा उपस्थित हुन जरुरी छैन ।
( हामी नेपालीमा ‘हुँदैन’ ‘नो’ ‘आउन सक्दिन’ आदि स्पष्ट रुपमा भन्ने चलन छैन । ‘हेरौंला, ‘सकभर कोसिस गर्छु’ , ‘केहि इमर्जेन्सी नपरे आउंछु’ जस्ता दोधारे उत्तर दिएर हामीले आफैलाई अप्ठ्यारोमा पार्ने काम गर्छौं । जे हो त्यहि भन्ने हो भने अर्को पक्षको पनि अपेक्षा हुँदैन, आफुलाई पनि दवाव खेप्नु पर्दैन ।

यो महामारीको समयमा औपचारिकता निभाउने तथा अर्को पक्षको जोखिमलाई बुझेर पाहुना नबोलाउने, नजाने तथा टेलिफोन र इन्टरनेटको माध्यमबाट सुखदुख, आशिर्बाद, शुभकामना, बधाई, स्वास्थ्य लाभ, दुख प्रकट आदि गरौँ । को संक्रमित छ, को छैन भन्ने कुरा निधारमा लेखिएको हुँदैन । तसर्थ महामारीको अबधिमा आफ्नो मनको राजा बनौं, कसैले कसैलाई बाध्य नपारौं तथा औपचारिकता निभाउने काम नगरौं । एक अर्कालाई सहयोग गरौँ तर सकभर भेटघाट नगरौं ! (डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)