पर्सामा कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका प्रहरीमाथि आक्रमण

August 1, 2020 |Pahiloclick

पर्सा: वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा शव व्यवस्थापन गर्न खटिएको प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित ६ जना प्रहरी घाइते भएको जनाइएको छ । शव व्यवस्थापन गर्न प्रहरी टोली पुग्दा त्यहाँका स्थानीयले विरोध गरेका थिए ।

स्थानीयले विरोध गरेपछि कुरा मिलाउने क्रममा स्थानीयले ढुंगामुढा गर्दा ६ जना प्रहरी घाइते भएको जनाइएको छ ।

स्थिति सामान्य अवस्थामा ल्याउन प्रहरीले पनि दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेको जनाइएको छ ।