हरेक दिन साँझ ७ देखि विहान ७ बजेसम्म नाकाबाट काठमाडौ प्रवेशमा रोक

July 30, 2020 |Pahiloclick

काठमाडौं : काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ प्रवेश गर्ने नाकामा आवागमनमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले आज बिहीबार अर्थात १५ साउनबाटै लागू हुने गरी हरेक दिनको साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।

यसअघि नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको थियो ।

सरकारले केही दिनयता काठमाडौं प्रवेशविन्दुमै स्वाब संकलन गर्दै आएको थियो । नागढुंगामा ४ हजार ७१०, फर्पिङमा १ हजार २८२ र साँगामा २ हजार ४०९ जनाको स्वाब संकलन गरिएको थियो ।

नागढुंगामा संकलितमध्ये २ हजार ३०२ को परीक्षण गर्दा ३ जना, फर्पिङमा संकलित ७४१ को परीक्षण गर्दा १० जना र साँगामा संकलित ४३० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।