वाग्मती प्रदेशमा सबै सवारी साधनका लागि शुरु भयो इम्बोस्ड नम्बर प्लेट वितरण

July 25, 2020 |Pahiloclick

काठमाडौं: सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले संयुक्त रूपमा शुक्रवार टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गरेका हुन्।

मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेटका रूपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योजनाअनुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए। सुरुवातमा कानुनी कारण समस्या रहे पनि अहिले यो कार्यान्वयन हुन गइरहेको उनको भनाइ छ। केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य शुरु भएको छ।

उनले भने, ‘यो काममा तीव्रता दिन सबैलाई अनुरोध गर्दछु।’

मन्त्री नेम्वाङले संघीयतामा गएपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायातलाई व्यवस्थापनको जिम्मेवारी दिएको बताए। यातायातलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न तीनै तह तदारुकताको साथ कार्यान्वयन गर्दै अगाडि बढेको उनको भनाइ छ। सबै सवारी साधनलाई चुस्तदुरुस्त राख्नका निम्ति त्यसको परीक्षण गर्ने कार्यालय स्थापना भइरहेको उनले बताए।

उनले भने, ‘सातै प्रदेशमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापना गर्ने सरकारको योजना बमोजिम बुटवल र हेटौंडामा स्थापना भइसकेको छ।’