कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्नेलाई प्रहरीले हान्यो अश्रुग्यास

July 4, 2020 |Pahiloclick

 

गोरखा: गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ।

शनिबार अवुवास्थित लुदी र दरौंदी दोभान भेला भएका स्थानीय बासिन्दाको भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास हानेको हो। सात सेल अश्रुग्यास हानेर भीड तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको शनिबार बिहान गोरखा अस्पतालस्थित आइसोलेसनमा मृत्यु भएको थियो। उनी गत मंगलबार कतारबाट घर फर्किएर स्थानीय जीवनज्योति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बस्दै आएका थिए।

खोकी लाग्नेजस्ता लक्षण देखिएका ती पुरूषमा कोरोना पुष्टि भएपछि शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको सात घण्टापछि उनको निधन भएको हो।

गोरखा नगरपालिकाको देउराली र सहिद लखन गाउँपालिकाका स्थानीय बासिन्दाले आफ्नो क्षेत्रमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेपछि प्रहरीले अश्रुग्यास हानेको हो। पालुङटार घर भएका ती पुरूषको शव किन गोरखा नगरपालिकामा व्यवस्थापन गर्नुपर्‍यो भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए।

जिल्ला सुरक्षा समितिले शनिबार बिहान १० बजे लुदी र दरौंदी दोभानमा खाल्डो खनेर शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो। खाल्डो खन्न जेसिबी गएको देखेपछि स्थानीय बासिन्दाले अवरोध गरेका हुन्। नेपाली सेनाले अहिले शव व्यवस्थापनको काम सुरू गरेको छ।