पहिरो हटाएपछि सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

June 8, 2018 |Pahiloclick

बुटवल: गएरातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

बिहिबार रातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो । दुर्वै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।

पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको छ ।एकतर्फी रुपमा खेलेको सडक दुईतर्फी सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यता पाल्पाको सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेपछि केही दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पहिरो गइरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा यसवर्ष मात्र तीनपटक पहिरो खस्दा करीब एक साताभन्दा बढी दिन आवागमन अवरुद्ध भएको छ भने पहिरोमा पुरिएर एकजना सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।