पर्यटन क्षेत्रलाई छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेका छौंः मन्त्री भट्टराई

May 29, 2020 |Pahiloclick

 

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् । १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए ।

उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायिहरु उत्साहित भएको विश्वास समेत व्यक्त गरे । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए । आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताए । उनले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठानको अवधारणाअनुरुप पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत बताए ।

उनले नेपालको सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाई र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताए । सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तब्यका रुपमा रहने विश्वास समेत उनले गरे ।