बजेट बढी प्रचारात्मक भयोः डा. महत, कार्यान्वयन निकै चुनौतीपूर्ण छः पाण्डे

May 29, 2020 |Pahiloclick

काठमाडौं: पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको बजेट बढी प्रचारात्मक भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेट पछिको छलफल कार्यक्रममा मन्त्री डा. महतले सरकारले ल्याएको बजेट सरकार जस्तै बढी प्रचारात्मक, बढी आश्वासन रहेको र कार्यान्वयनको पाटो निकै कमजोर हुने भएको बताए ।

बजेटले आन्तरिक ऋणलाई बढी जोड दिएको भन्दै त्यसले नीजि क्षेत्रमा जाने तरलता कम हुने उनको तर्क छ ।

बजेटले साना तथा लघु उद्यमीलाई दिएको छुट राम्रो भएपनि अन्य क्षेत्रमा गलत निर्णय भएको उनको ठहर छ ।

छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले देशको परिस्थिती अनुसारको बजेट ल्याएको धारणा राखे । ‘चालु आवमा पनि सरकारले ल्याएको बजेटमा घटाएको थियो । त्यसको कारण कोरोना पनि हो । हाम्रो राजस्व पनि उठन सकेन । विप्रेषणमा गिरावट आउने देखिएको छ । त्यसैले अहिलेको बजेट समग्रमा ठिकै छ’ उनले भने ।

उनले चालु खर्च बढी भएको र रेभिन्यूले त्यसलाई नधान्ने देखिएको पाण्डेको दाबी छ । ‘विप्रेषण कम भएको खण्डमा आन्तरिक ऋण लिएर खर्च गर्नुपर्ने अवस्था देखिएको छ’ उनले भने ।

हरेक वर्ष वैदेशिक सहायत आउने भन्ने तर आवको अन्तिममा आउने र त्यसमा हुने विभिन्न शर्त पालना गर्न नसक्दा देखिने समस्या समाधान तर्फ सरकार सचेत रहने बेला आएको उनको बुझाई छ ।
आगामी आवमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि गर्ने भनेपनि त्यसमा धेरै नै चुनौती रहेको पाण्डको बुझाई छ । ‘बजेटको साइज साधुरो बनाउँदै लैजाने, राजस्व कम उठने हुँदा यो निकै चुनौतीपूर्ण छ’ उनले भने ।

बाह्य ऋण, आर्थिक वृद्धि र चालु खर्चमा सरकारलाई धेरै नै चुनौती रहेको छ भन्दै चालु खर्च बढने र पुँजीगत खर्च नहुने समस्या समाधानको विकल्प नरहेको पाण्डेले बताए । अहिले दुधको खपत ३० प्रतिशत मात्रै रहेको र ७० प्रतिशत प्रयोगमा नआएको भन्दै यसमा सरकारले ध्यान दिन आवश्यको बताए ।

अब सरकारले अभिभावको रुपमा काम गर्न आवश्यक रहेको उनको बुझाई छ । सरकारले बजेट मार्फत रि-फाइनान्सको कुरा गरेको, करमा छुट दिने भनेको भन्दै त्यो राम्रो निर्णय भएको पाण्डेले बताए ।

लकडाउन बढेको खण्डमा राजस्वमा दबाब पर्न जाने भएकाले यो बेला बजेटमा भएका राम्रा कुरा पनि कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको उनको बुझाई छ ।