बजेटमा निजी क्षेत्रलाई सम्बोधन नगरिए उद्योग बन्द गरेर सडकमा आउन बाध्य हुन्छौ: महासंघ अध्यक्ष राणा

May 18, 2020 |Pahiloclick

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सरकारसँग राहत मागेको नभएर सहयोगको अपेक्षा गरेको बताएकि छन् ।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोभिडबाट अर्थतन्त्रमा परेको असर र राहतका लागि सरकारलाई आफूहरुले सुझाव बुझाएको र उक्त सुझाव समावेश नीति तथा कार्यक्रममा नसमेटेको समेत बताइन् ।

उनले आगामी आर्थिक वर्षको बजेटका लागि निजी क्षेत्रले आफ्ना मागहरु अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंंकलगायतका सबै निकायलाई जानकारी गराएको र त्यो विषय बजेटमा समावेश नभएको खण्डमा उद्योग क्षेत्र ध्वस्त हुने बताइन् ।

उनले आफ्नो मागहरु सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश नभएको र आगामी आवको बजेटमा पनि आफ्ना माग समावेश नभएको खण्डमा निजी क्षेत्रले आफ्नो उद्योग धन्दा बन्द गरेर सडकमा निस्कनुको विकल्प नभएको बताएन ।

आफ्नो मागहरु बजेटमा सम्बोधन नभएमा उद्योग धन्दा ध्वस्त हुने उनको भनाइ छ ।

उनले आगामी ३ वर्षका लागि बैंकको ब्याज ५ प्रतिशत कायम गर्न आग्रह गरिन । घाटामा गएको उद्योगको लागि ५ वर्ष वाच लिस्टमा राख्नुपर्ने बैंकले लिने सेवा र नविकरण शुल्क खारेजगर्न समेत आग्रह गरिन ।

विजुलीमा लाग्ने हर्जाना हटाउनु पर्ने, महशुल आगामी ४ महिनासम्म तिर्न पाउनु पार्ने माग गरेकी छिन् । साथै लडकाउनको समयमा भएको विद्युतको डिमान्ड शुल्क खारेज गर्न र २ वर्षसम्म ४ प्रतिशत छुट हुनुपर्ने समेत माग गरिन् ।

उनले भ्याटलाई १३ बाट १० प्रतिशत हुनुपर्ने, व्यक्तिगत आयाकरमा पनि २० प्रतिशत छुट हुनुपर्ने माग गरिन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले सहज वतावरण सिर्जना नगरे उद्योग सञ्चालन गर्न नसकिने बताएका छन् ।

सरकारले लकडाउनको समयमा खोल्ने भनेका ४४ वटा उद्योग घोषणामा नै सीमित हुने बताए ।

‘एक जिल्लाबाट अर्को जिल्लामा जान समस्या छ, कच्चा पदार्थ ल्याउन पनि समस्या छ, यस्तो अवस्थामा सञ्चालन गर्नुहोस् भनेर मात्रै हुँदैन, त्यसका लागि वातावरण पनि बनाउनु पर्छ,’ उनले भने ।