गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

August 7, 2018 |Pahiloclick

काठमाडौँ :निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभागले त्यसका लागि आवश्यक तयारी गरेको हो । विभागका महानिर्देशक ऋषिराम शर्माले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडानका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

गौतमबुद्ध विमानस्थल आगामी दश महिनाभित्र सञ्चालनमा आउने भएपछि विभागले पनि मौसमी सूचना प्रणाली स्थापना गरी हवाई यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने प्रयास गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गर्नुभएको छ । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो ।

नेपालमा विगतमा भएका हवाई दुर्घटनामध्ये करीब ९० प्रतिशत मौसमकै कारण हुने भएकाले त्यसलाई पनि हटाउन लागिएको हो । महानिर्देशक शर्माले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको त्यस्तो सूचना प्रणालीलाई गौतमबुद्ध विमानस्थलमा जडान गर्न लागिएको जानकारी दिए ।

सो विमानस्थलमा पनि मौसमी सूचना संकलन, विश्लेषण गर्ने जनशक्ति र आवश्यक उपकरण जरुरी पर्दछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३७ कर्मचारी कार्यरत छन् । विभागले गौतमबुद्ध विमानस्थलका लागिसमेत २० कर्मचारी आवश्यक रहेको भन्दै प्रक्रिया शुरु गरेको छ ।

“एक वर्ष भित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारीमा छ, सो अगावै हामीले उपकरण, जनशक्ति उपलब्ध गराएर हवाई मौसमी सूचना संकलन शुरु गरिहाल्नुपर्नेछ, त्यसको तयारीमा हामी लागेका छौ”, महानिर्देशक शर्माले भने ।