शनिबारदेखि लागू हुनेगरी सबै सवारी पास रद्ध, जिल्लाभित्र चलाउन पनि अर्को नयाँ पास चाहिने, टाइम कार्ड सेवा रद्ध

May 15, 2020 |Pahiloclick

काठमाडौं: सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

‘जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता पाउने छैनन् । अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैनन्’, उनले भने ।

कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ । यो निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ।
पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको गुनासो बढेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नाकामा कडाइ गर्नुका साथै लकडाउन खुकुलो नबनाउन यसअघिको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै बिहीबारदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गर्दै गृहले पास रद्द गरेको थियो ।

पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला गृहको यो निर्णय आएको हो। हालसम्म देशभर २४६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।