लकडाउनको ४३ औं दिनः पूर्ण पालना हुन छाड्यो, चेकजाँचमा कडाई

May 5, 2020 |Pahiloclick

 

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ औं दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ ।

मंगलबार काठमाडौं उपत्यकाका केही भागमा पुग्दा लकडाउनको पूर्ण पालना भएको देखिएन् । एयरपोर्ट, कोटेश्वर, तिनकुने, बानेश्वर, माइतीघर लगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको देखियो । तर सडकमा अत्यावश्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारी साधनको चाप बढेको देखिन्छ ।

अत्यावश्यक र पासबाहेक सवारी साधनको भिड बढ्दै गएको छ । प्रहरीले चेकजाँचलाई कडाई गरेसँगै सवारीसाधनहरुको लामो लाइन देख्न सकिन्छ । अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै उपत्यकाका भित्री सडकहरुमा पनि केही पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर दैनिक उपभोग्य सामग्रीहरु किनमेल गरेको देखिन्छ ।

सरकारले यही वैशाख २५ गते बिहीबारसम्म लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्ने र लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिने बुझिएको छ ।