कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय हवाई उद्योगलाई ३१४ अर्ब डलरको क्षति: आइटा

April 30, 2020 |Pahiloclick

 

काठमाडौँ: कोभिड-१९ का कारण यात्रु माग घटेपछि अन्तर्राष्ट्रिय हवाई उद्योग ओरालो लागेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइटा) ले तयार पारेको विवरणअनुसार गत वर्षको तुलनामा सन् २०२० मा वायुसेवा उद्योगले यात्रुबाट गर्ने आम्दानीमा ५२.९ प्रतिशतले गिरावट आएको छ ।

इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय हवाई उद्योगमा गिरावट आएको आइटाले जनाएको छ । आइटाका अनुसार यो वर्ष मार्च महिनासम्ममा विश्वभर सिट अक्युपेन्सी ३६.२ प्रतिशतले र लोड फ्याक्टरका दृष्टिले ६०.६ प्रतिशत गिरावट आएको छ ।

‘उड्डयन क्षेत्रका लागि प्रकोप आएको छ । कोभिड-१९ का कारण विश्वभरका कतिपय वायुसेवा कम्पनी बन्द भइसकेका छन् भने कतिपयले उडानमा प्रतिबन्ध लगाइसकेका छन् । हवाई जहाज र कर्मचारी दोब्बरले बढेपनि अहिले उड्डयन क्षेत्रको माग सन् २००६ को जस्तै भएको छ,’ आइटाका महानिर्देशक एलेक्जेन्डर दि जुनेइकले भनेका छन् ।

सन् २०१९ को वित्तीय विवरणले सुधार देखाएको विश्व उड्डयन क्षेत्रमा यतिखेर कोभिड-१९ ले ब्रेक लगाइदिएको छ । कोभिड-१९ का कारण यो वर्ष विश्व उड्डयन उद्योगले आम्दानीमा तीन खर्ब १४ अर्ब डलर घाटा व्यवहोर्ने आइटाले जनाएको छ ।

गत वर्षको मार्चको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको माग ५५.८ प्रतिशतले घटेको आइटाले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई ट्राफिक दोहोरो अंकले घटेको छ भने हवाई क्षमता ४२.८ प्रतिशतले खस्किएको छ । आइटाले तयार पारेको विवरणअनुसार लोड फ्याक्टरमा ६२.५ प्रतिशतले गिरावट आएको छ ।

गत वर्ष मार्च महिनाको तुलनामा यो वर्ष विश्वको आन्तरिक उड्डयन क्षेत्रमा यात्रु प्रवाहमा ४७.८ प्रतिशतले गिरावट आएको आइटाले जनाएको छ । कोभिड-१९ का कारण यो वर्ष मार्च महिनामा आन्तरिकतर्फको उड्डयन क्षमता २४.५ प्रतिशत र लोड फ्याक्टर ५८.१ प्रतिशतले घटेको छ ।

आइटाका महानिर्देशक जुनेइकले भनेका छन्, ‘अहिले हवाई उद्योग धमाधम खस्किँदै गएको अवस्था छ । सीमा नाका र हवाई उडानमा लागेको प्रतिबन्ध छिट्टै हट्ने आशामा छौँ । यसका लागि सरकारले हवाई उद्योगसँग अहिलेदेखि सहकार्य गर्दै अगाडि बढ्न आवश्यक छ । यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हवाई यातायातबाट कोभिड संक्रमण नहुने किसिमले सहकार्य गर्नुपर्ने देखिन्छ ।’