पेपरलेस र क्यासलेस बैंकिङ : बैंक तथा वित्तीय संस्थाको अबको गन्तव्य

April 11, 2020 |प्रताप सुवेदी

 

चीनको वुहानबाट गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म आइपुग्दा विश्वका २०८ देशहरु नराम्रोसंग प्रभावित भइसकेका छन । पर्यटन, हवाई सेवा, उत्पादन, वैदेशिक रोजगारी, यातायात लगायत सबै क्षेत्रहरु ठप्प छन । नेपालमा पनि यसको प्रत्यक्ष असर परिरहेको सन्दर्भमा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी अर्थात ‘लकडाउन’ घोषणा गरि हाल कार्यान्वयन कडा बनाउँदै लगेको सन्दर्भमा विभिन्न १७ वटा सेवालाई अत्यावश्यक सेवा घोषणा गरिएको र बैंकिङ क्षेत्र पनि यसै अन्तर्गत राखि न्यूनतम शाखा खोली अत्यावश्यक बैंकिङ सेवाहरु भने सुचारु गरिएका छन ।

बैंकिङ कर्मचारीहरु उच्च जोखिममा : 

बैंकिङ कारोबार सुचारु गर्नुपर्दा बैंकहरुले पनि आवश्यक सतर्कता अपनाउन कोसिस त गरेका छन । हालसम्म बैंकिङ क्षेत्रमा करिब ७० हजारको हाराहारीमा कर्मचारीहरु रहेको पाइन्छ । कर्मचारीहरु र कार्यालयहरु आलोपालो गरि कार्यालय सञ्चालनमा गइरहनु परेको अवस्था छ । कार्यालयमा रहेका सीमित सवारी साधनले उनीहरुलाई अपडाउनको व्यवस्था गरिएको पाइन्छ । बैंक नोट, एसेसरिज सामानहरु, कम्प्युटर, किबोर्ड, एटिएम मेसिन लगायत मेसिन एवं उपकरणहरु छुँदा, चलाउँदा पनि यस रोगको संक्रमण तीव्र हुने गर्दा विदेशस्थित बैंकहरुमा पैसा (नोट) कर्मचारीले चिम्टाले परैबाट लिने र एक–एक गरि आइरन लगाएर नोट काउन्ट गरेको पनि समाचारहरुमा देखाइयो । स्मरण रहोस्, चीनमा संक्रमित क्षेत्रमा कागजी नोटहरु संकलन गरि आगोमा जलाइएको समाचारहरु सार्वजनिक भएका थिए ।

 

बैंकिङ ग्राहकहरुसमेत जोखिममा: 

बैंकमा कर्मचारीहरु मात्र उच्च जोखिममा छैनन, ग्राहकहरु पनि त्योभन्दा बढी जोखिममा छन । बैंकका कर्मचारीलाई त पर्याप्त स्यानिटाइजर, मास्कको उपलब्धता पुगेको देखिँदैन भने ग्राहकहरुले यस्ता अत्यावश्यक सुरक्षा कवचलाई पर्याप्त ध्यान दिन सकेको पाइँदैन । यस्तो समयमा बैंकको सेवा लिन आउने ग्राहक झन जोखिममा छन भन्नेमा स्पष्ट हुन सकिन्छ । उनीहरुले सोसियल डिस्ट्यान्स कायम गर्न सकिरहेका छैनन । ग्राहकका हिड्डुलपछि घर पुग्दा घरका परिवारका सदस्यलाई पनि असहज हुने अवस्था छ ।

 

पेपरलेस र क्यासलेस बैंकिङ:  बैंक तथा वित्तीय संस्थाको अबको गन्तव्य : 

यस प्रकारको अवस्थामा अबका दिनहरुमा रुपैयाँ पैसालाई सकेसम्म कम चलनचल्तीमा ल्याउने, अत्यावश्यक र खास कार्यमा बाहेक बैंक जानु नपर्नेगरि वर्तमानमा ग्राहकलाई दिइएका सन्देशलाई पूर्ण रुपले व्यवहारमा उतार्नुपर्ने अर्कोतर्फ ग्राहकलाई पूर्ण रुपले डिजिटल बैंकिङ सेवा दिने, डिजिटल बैंकिङ सेवा उपयोग गर्नेबारे वित्तीय साक्षरताको पाठ्यक्रम नै तयार गरि बैंकमा खाता खोल्न आउने लक्षित वर्गका ग्राहकलाई कार्यालय समयपछि वा विदाको दिनमा समुहसमुहमा एक दुई घण्टाको डेमो (प्रयोगात्मक) वित्तीय साक्षरता प्रदान गर्नुपर्ने देखिन्छ । अहिले ग्राहकले बाध्यतावस भएपनि विभिन्न बैकल्पिक र डिजिटल माध्यमबाट बैंकसंग कारोबार गरिरहेका छन । जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न कार्डहरुको प्रयोग, पिओएसबाट भुक्तानी, क्यूआर पेमेन्ट्स आदी । यसलाई सहज परिस्थिती आउँदा समेत व्यापक रुपमा प्रयोग गर्न सक्ने गरि ग्राहकलाई सक्षम बनाउनु  र कोरनाले तहसनहस पारेको अर्थतन्त्रलाई पुनर्ताजगी गरि सम्वृद्धितर्फ डोर्याउनु सबै बैंक, वित्तीय संस्थाहरुको अबको पहिलो गन्तव्य हुनु पर्दछ ।

 

वित्तीय साक्षरतामा समावेश गर्नुपर्ने अबका विषयहरु: 

अबका दिनमा विगतमा दिँदैआएका विषयका अतिरिक्त बैंकहरुले लक्षित ग्राहकलाई आफ्नो वेबसाइटबाट एपमार्फत खाता खोल्ने, केवाइसी अपडेट गर्ने, क्यास डिपोजिट मेसिनमार्फत बैंकमा रकम जम्मा गर्ने, विद्युतीय भुक्तानीका माध्यमको प्रयोग गर्न सकिने अवस्थार साधनहरु, यस्ता सेवामा पाइने क्यासव्याक अफर, बैंक ऋणको किस्ता भुक्तानी, बत्ती, विजुली, पानी लगायत बिल भुक्तानी जस्ता प्राविधिक विषयको पनि ज्ञान दिने र खाता खोल्दा वा कारोबार गर्दा यस्ता सेवाका लागि लक्षित ग्राहकलाई म्यानुवल (ब्रोसर) बनाएर उपलब्ध गराउन सकिने ।

 

‘कोरोना’ डिजिटल बैंकिङको लागि ‘चाँदीको घेरा’:  
बैंकका कुल ग्राहकहरुमध्ये हालसम्म करिब १५–२० प्रतिशतले मात्रै डिजिटल बैंकिङ सेवा लिएको भन्ने तथ्यांकलाई आधार मान्ने हो भने अब सम्पूर्ण बैंक वित्तीय संस्थाहरुले यसलाई व्यापक बनाउने अवसर आएको छ । अहिले दैनिक रुपमा ठूलो संख्यामा मोबाइल बैंकिङबाट कारोबार, एटिएमबाट रकम भुक्तानी र अन्य डिजिटल मनीको उपकरणको प्रयोग उच्च रुपमा भएको छ । केही बैंकहरुले घरमा बसीबसी कारोबार गर्न उनीहरुका वेबसाइटहरुमा प्रयोग गर्ने म्यानुअल राख्न सुरु गरेका छन । अबका दिनमा ग्राहकलाई लक्षित गरि पेपरलेस र क्यासलेस बैंकिङको अवधारणालाई पूर्ण रुपमा कार्यान्वयन गर्नेबेला आएको छ ।

 

कुनै पनि सफलताका पछाडि कुनै घटनाक्रमको महत्वपूर्ण भूमिका हुन्छ । हरेक बाँदलमा चाँदीको घेरा हुन्छ भनेजस्तै ‘डिजिटल बंैकिङ’को पूर्ण कार्यान्वयन गर्ने अवसरको रुपमा यो कोरोना समयलाई सदुपयोग गर्न सकेमा नेपालको बैंकिङ क्षेत्रले अर्को फड्को मार्ने निश्चित छ ।

(लेखक कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक हुनुहुन्छ ।)