कोटेश्वर-जडिबुटी सडकमा आजबाट ठुला सवारी बायाँ लेनमा मात्रै चलाइने

February 26, 2020 |Pahiloclick

 

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर–जडीबुटीमा हुने सवारी चाप कम गराउने भन्दै आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सवारी चापको व्यवस्थापनका लागि सो रुटमा बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो ।

एसएसपी ढकालका अनुसार टिपर, ट्रक, बसलगायत ठूला सवारीसाधनलाई बायाँ लेनमा चलाउनुपर्ने छ। साना सवारिहरु जस्तै मोटरसाइकल, कारलगायतलाई भने दायाँ लेनमा गुडाउनु पर्ने छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्‍वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने अपेक्षा गरे ।

‘कोटेश्‍वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम हुँदा यात्रुले सास्ती खेप्दै आएका छन’ उनले भने, ‘जामलाई कम गर्नका लागि यो नियम ल्याइएको हो।’