वुहानदेखि काठमाडौं फर्किँदाको खुशी : ‘हामी संक्रमित छैनौं’

नेपाल फर्किनुअघि वुहानमा सामुहिक फोटो खिचाउँदै नेपालीहरु (तस्वीर : अशोक शाह)
February 16, 2020 |Pahiloclick

 

काठमाडौं : चीनको वुहानबाट नेपाल फर्किएका नेपालीहरुले भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको व्यवस्थापन राम्रो भएको भन्दै सरकारको प्रशंसा गरेका छन ।

त्यहाँ निर्माण भएको क्वारेन्टाइनमा आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा राखी सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको थियो ।

चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको थियो ।

क्वारेन्टाइनमा सरकारले संक्रमितलाई राख्नका लागि कुनै कसर बाँकी राखेको छैन । सबै कुराको व्यवस्थापन देखेर वुहान शहरबाट भर्खरै खरिपाटी पुगेका नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन ।

 

सरकारको तयारी देखेर चीनको वुहानबाट फर्किएका सौरभ लुइटेल -काफुचो आफूले सोचेभन्दा फरक र धेरै व्यवस्थित क्वारेन्टाइनमा बस्न पाएकोमा खुशी व्यक्त गर्छन ।

उनले सामाजिक सन्जालमा लेखेका छन, ‘अन्ततः म खरिपाटी आइपुगेँ । यहाँँको व्यवस्थापन सोचेभन्दा पनि राम्रो छ ।घर फिर्ता हुनुको अनुभव बयान गर्न पनि सकिन्न । धन्यवाद सबै सम्बन्धित अधिकारीहरुलाई ।’ अन्त्यमा उनले खुसी शब्दमार्फत आफ्नो स्टाटसलाई टुंग्याएका छन ।

त्यसैगरी चीनमा पिएचडी गर्दै गरेका विद्यार्थी अशोक शाहले पनि विमानस्थलबाट विहानको ४ बजे उत्रिएपछि अँध्यारोभित्र खुसी पाएको भन्दै आफ्नो भावना लेखेका छन । उनी भन्छन, ‘कोरोना भाइरस संक्रमित शहरबाट फर्किएर मातृभूमिमा आएकोमा खुशी छु । साथमा उनी सरकारले अन्ततः आफूहरुको कुरा सुनेकोमा धन्यवाद दिँदै भने जय नेपाल । ‘

 

नेपाल फर्किनुअघि वुहानमा अशोक शाह

१५ घण्टा अगाडि वुहानबाट नेपाल आउनुभन्दा अगाडिको स्टाटसमा उनले लेखे, ‘कृपया चिन्ता नलिनुस, हामी संक्रति छैनौं । नेपाल आज आउँदैछौं ।’

खरिपाटीस्थित क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ ।

 

क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधिलगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पुर्‍याइएको छ ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ ।

मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ ।

जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ ।