खुल्यो पाम तेलको निर्यात, यसरी मिल्यो कुरो

February 8, 2020 |Pahiloclick

 

काठमाडौं: सरकारले नेपालबाट पाम (ताडी) तेल भारत निर्यात गर्न पाउने गरी प्रतिवन्ध फुकुवा भएको बताएको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय स्रोतका अनुसार नेपालबाट मात्रै प्रशोधित तेल आयात गर्न एक भारतीय आयतकर्ताले अनुमति पाएको हो ।

‘बिहीबार भारतीय एक आयातकर्ताले लाईसेन्स को छ, अब अरुले पनि क्रमिक रुपमा पाउने छन्, नेपालबाट निर्यात खुल्यो भनेपनि हुन्छ,’ मन्त्रालय स्रोतले पहिलोक्लिक्लाई बतायो।

माघ दोस्रो हप्ता पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको थियो । प्रतिवनध हटेसँग नेपालले निर्यात प्रवर्द्धनका पक्ष्मा राहत पाएको छ । हाल नेपालको निर्यातमा ‘ट्रान्जिट वस्तु’कै रुपमा भएपनि पामको हिस्सा ठूलो छ ।

पुस २३ गतेदेखि भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । कास्मिर मुद्दामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको थियो ।

भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने उल्लेख थियो ।

भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली व्यापारी मर्कामा परेका छन् । मोरङ उद्योग वाणिज्य संघका अनुसार नेपालमा विराटनगर र वीरगन्जमा एक दर्जनभन्दा बढी पाम तेल प्रशोधन गर्ने उद्योग सञ्चालन छन् ।

इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन हुने एक प्रकारको वनस्पतिजन्य तेल नै पाम हो । एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । पाम तेलको कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ ।