‘ब्लक’मा समेटिँदै फर्पिङको नास्पाती

February 7, 2020 |Pahiloclick

फर्पिङ: फर्पिङको नास्पाती भन्नेवित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ । भादगाउँले टोपी, खोकनाको तेल, टोखाकोे चाकु र फर्पिङको नास्पाती अहिले पनि सर्वसाधारणको मन मनमा छ । ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मेहम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइराखेका छन् ।

 

नास्पातीका लागि ‘फर्पिङ’ भनेर चिनिए पनि उत्पादनका दृष्टिले काठमाडौँको दक्षिणकाली नगरपालिका– ८ को छैमले प्रख्यात छ । दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा पनि नास्पाती उत्पादन हुन्छ । परम्परागत नास्पातीखेती हुँदै आएको यहाँ सरकारी लगानी आउने भएपछि किसानको मुहारमा खुशीको चमक देखिएको छ ।

 

सरकारी अनुदान पाउने सुईंको पाएका रत्नबहादुर नेपाली यसपाली नास्पाती लगाउने योजनामा छन् । वडा नं ८ को कार्यालयमा अनुदानबारे बुझ्न आउनुभएका नेपालीले रासससँग भन्नुभयो, “गरिबलाई सरकारले सहयोग गर्छ भने दुई÷चार बोट लगाऊँ भनेर सुर कसेको ।”

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यसपाली छैमलेलाई ‘नास्पाती ब्लक’ बनाउन ५० लाख रकम विनियोजन भएको छ । उक्त अनुदानमा किसानले रु ५० लाख थपेर यहाँ एक करोडको कार्यक्रम सञ्चालन हुनेछ ।

 

उपत्यकाको तीन जिल्ला हेर्ने कृषि ज्ञान केन्द्र, ललितपुरका बागवानी विकास अधिकृत रवि केसी ब्लक बनाउन माघ महिनाभित्र आवेदन माग गरिएको बताउछन् । उनका अनुसार कम्तीमा एक रोपनी बढी नास्पाती खेती गर्ने किसान सहभागी गराई दुई हजार रोपनीमा ‘नास्पाती ब्लक’ बनाइनेछ ।

 

“मुख्यतः नासपातीखेतीको क्षेत्र विस्तार, प्रशोधन, बाली संरक्षण, बगैँचा व्यवस्थापन, नर्सरी निर्माण र रोग नियन्त्रणका कार्यक्रम ब्लकभित्र पर्छन्,” केसीले भने । यहाँका किसानले पनि ठाउँठाउँमा सरकारी अनुदानको रकम दुरुपयोग भएको चाल पाएका छन् । गरिब किसानले अनुदान नपाउने रोग यहाँ पनि सल्कने चिन्ता उनीहरूमा देखियो । सबैलाई समेटेर ब्लक निर्माण भए किसानले राहत महसुस गर्नेछन् । हुने खानेकै बोलवाला भयो भने फेरि गरिब किसानको आशा निरासामा परिणत हुने आशङ्का छ ।

 

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत आएको बजेट दुरुपयोग नहुने गरी र तोकिएको क्षेत्रका सबै किसानले प्राप्त गर्ने गरी परिचालन हुने विश्वास दिलाउछन्। उनले यसपाली नसमेटिएका किसानलाई अर्काे साल समेट्ने योजना रहेको बताए । नगरपालिकाले यसअघि नै छैमलेलाई नास्पाती पकेट क्षेत्र घोषणा गरेको थियो । सरकारी सहयोगमा ‘ब्लक’ निर्माण भएपछि नास्पाती खेतीमा आमूल परिवर्तन हुने आशा गरिएको छ । सरकारबाट ठूलो रकमको कार्यक्रम पहिलो पटक परेको भन्दै स्थानीय खुशी भएका छन् ।

 

नगरपालिकाको वडा नं ८ का वडाध्यक्ष राजकुमार लामाले नास्पाती ब्लकअन्तर्गत क्षेत्र विस्तार र बगैँचा व्यवस्थापन गरी ५० हजार विरुवा उत्पादन गर्ने योजना रहेको बताए ।

 

सार्वजनिक सूचनाअनुसार नगरपालिकाले लालपूर्जा सङ्कलन गरेर दुई हजार रोपनीको चक्लाबन्दी गर्न प्रक्रिया थालेको छ । पहिलो चरणमा किसान भेला गरेर कार्यक्रमबारे जानकारी दिइसकिएको छ । विगतमा निर्वाहमुखी नास्पातीखेती हुँदै आएको छैमलेमा ब्लक निर्माणपछि भने व्यवसायीकरण हुने विश्वास किसानको छ ।

 

छैमले गाउँमा ७० देखि ८० प्रतिशत बढी किसानको नास्पाती छ । प्रतिघर कम्तीमा पाँच बोटदेखि ३०० बोट नास्पाती छन् । नास्पातीबाट किसानले वार्षिक रु पाँचदेखि रु सात सात करोड आम्दानी गर्दै आएका छन् । नास्पाती बगैँचाभित्र अदुवा, बेसार र पिँडालुखेती पनि हुन्छ ।

 

साउनदेखि असोजसम्म नास्पातीको मौसम हो । नास्पाती व्यापारी कुमार बलामी दक्षिणकाली भरी झण्डै १२ देखि १५ करोडको नास्पातीको कारोवार हुने बताउछन् । एक घरले पाँच हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने अनुमान उनको छ । यकिन विवरण भने छैन । काठमाडौँलगायत तराईका शहर र भारतमासमेत यहाँको नास्पाती खपत हुन्छ । नास्पातीखेतीका जानकार स्थानीय मीठाराम कठायत नास्पातीकै कारण दशैँको समयमा यहाँका किसानलाई अन्य क्षेत्रमा मङ्सिर लागे जस्तै हुने प्रतिक्रिया दिन्छन ।

 

प्राविधिज्ञका अनुसार वर्षैपिच्छे हाँगा व्यवस्थापन गरे स्वादिलो नास्पाती फल्छ । राम्ररी गर्न जानिएन भने फल कम लाग्छ । यहाँका किसानलाई जति नै नास्पाती फले पनि दुई महिनाभित्रैमा बेचिसक्नुपर्ने बाध्यता पनि छ, नत्र कुहिएर जान्छ । नास्पातीको खेती गर्दै आएका भक्तबहादुर वाइबा रोगव्याधि र कुहिने समस्या प्रमुख चुनौती हो भन्छन ।

 

अहिलेको समय हाँगा व्यवस्थापनको होे । किसानले पुराना हाँगा निकालिरहेका छन् । अर्काे महिना फूल फुल्छ । कठायतले हरेक नास्पातीमा घाम पर्ने गरी हाँगा व्यवस्थापन गरियो भने उत्पादन राम्रो हुने बताए ।

 

कृषि ज्ञान केन्द्र ललितपुरका अनुसार यसपाली दक्षिणकाली नगरपालिका– २ मा तरकारीका लागि पनि अर्काे ब्लकको काम भइरहेको छ । काठमाडौँका विभिन्न क्षेत्रमा १६ वटा पकेट क्षेत्र निर्माण हुँदै छ । पकेटमा सरकारको तर्फबाट रु १४ लाख १२ हजार र ब्लकका लागि रु ५० लाख अनुदान आउँछ । पकेटका लागि न्यूनतम २०० रोपनी र ब्लकका लागि दुई हजार रोपनी जग्गा चाहिन्छ ।

 

केन्द्रले ललितपुरको बागमती गाउँपालिकामा किबीका लागि एक ब्लक र अन्य विभिन्न खेतीका लागि १३ वटा पकेट क्षेत्र तथा भक्तपुरमा तरकारीका लागि एक ब्लक र १७ वटा पकेट क्षेत्रका लागि बजेट विनियोजन भएको जनाएको छ ।