विषादीरहित तरकारीखेती : उत्पादन कम आत्मसन्तुष्टि धेरै

February 6, 2020 |Pahiloclick

बनियानी: “तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ”, झापा विर्तामोड–७ का कृषक होमप्रसाद अधिकारी भन्छन ।

 

बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उनी विषादीरहित तरकारी खेती लागेको हो । आफूले लगाएको गोलभेँडाको बोट देखाउँदै उनले भने, “हेर्नुस् त, बोट कस्तो छ ?” विषादीरहित तरकारी विषादी हालिएको तुलनामा कम चम्किलो र आकर्षक देखिन्छ ।

 

पाँचथरको सुभाङबाट झापा झर्नुभएका अधिकारीले पाँच कठ्ठामा गोलभेँडा, धनियाँ, रायो साग, कोभी, बन्दालगायतका तरकारीखेती गरिरहेको छ । उनले दैनिक १०० मुठा धनियाँ बिक्री गर्नुहुन्छ । “रु सात÷आठ प्रतिमुठा धनियाँ बेच्ने गरेको छु”, उनले भने, “केही समयअघि मैले एउटै बोट १० रुपैयाँसम्ममा बेचेँ ।”

 

बिर्तामोड–७ का कृषक डिल्लीराम बाँस्कोटाले दुई वर्षदेखि विषादीरहित तरकारीखेती गरिरहेको छ । उनको भनाइ पनि अधिकारको भन्दा भिन्न छैन । होमप्रसाद र डिल्लीराम जस्तै कृषक यज्ञप्रसाद अधिकारीले एघार कट्ठामा विषादीरहित तरकारीखेती गरेको छ । तीन कट्ठामा आलु, एक कट्ठामा कोपी र एक कट्ठामा गोलभेँडा लगाएको छ । विषादीरहितखेती गर्दा गौरव र सुरक्षित महशुस भएको उनको भनाइ थियो । विषादीको प्रयोगले कृषकलाई समेत असर पुग्छ । उत्पादन राम्रै भए पनि अन्य तरकारीकै मूल्यमा बेच्नुपर्ने बाध्यता छ ।

 

विषादीको विकल्पमा कृषकले गाईको गहुँत, मोही, विभिन्न किसिमका झारपातको झोलबाट जैविक विषादी बनाएर खेतीमा प्रयोग गर्ने गरेका छन् । मलको लागि गड्यौला र गाईबस्तुको मल प्रयोग गरिएको छ ।

 

विषादीरहित तरकारीखेती गरेका कृषकले आफ्नो उत्पादन बजार उचित मूल्यमा बेच्ने वातावरण सिर्जना गरिदिन माग गरेका छन् । उनीहरुले बिर्तामोडको कृषिथोक बजारमा विषादीरहित तरकारीको छुट्टै बिक्री कक्ष स्थापना माग गरे । “बिर्तामोड नगरपालिकाले जसरी कृषकलाई उत्पादनमा प्रोत्साहन गरिरहेको छ, त्यसरी नै उचित मूल्यमा बेच्ने वातावरण बनाउन भूमिका खेल्नुपर्छ”, कृषकको एउटै भनाइ छ, “नत्र टिक्न सकिँदैन ।”

 

बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीरहित कार्यक्रम’ अन्तर्गत यहाँका ४० कृषकलाई गत आर्थिक वर्षमा विषादीरहित तरकारीखेतीका लागि आवश्यक सहयोग गरेको थियो । नगरपालिकालेरु १७ लाख अनुदान दिएको कृषि शाखा अधिकृत राजेन्द्र कँडरियाले जानकारी दिए ।

 

सिँचाइका लागि मोटर, गड्यौला मल उत्पादन, साना टनेल बनाउन आवश्यक सामग्री, ड्रमलगायतका सामान प्रोत्साहनस्वरुप दिइएको छ । चालू आवमा सोही अनुपातमा अन्य कृषकलाई सहयोग गरिनेछ ।

 

नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले विर्तामोडस्थित कृषिथोक बजारलाई नगरको मातहतमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उनले भने, “नगरको स्वामित्वमा आउनेबित्तिकै उक्त बजारलाई व्यवस्थित गर्दै विषादीरहित तरकारीलाई छुट्टै कक्ष बनाइनेछ ।” उनले कृषकको उत्पादनको उचित मूल्य र बिक्री स्थलको प्रबन्ध मिलाउन यथाशीघ्र पहल गरिने बताए ।