टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु

February 6, 2020 |Pahiloclick

 

काठमाडौँ: उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए ।

 

अन्दाजी १२ः४५ बजे बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुने दुवैजनाको घर रौतहटको कटहरिया हो । टिपरको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो ।

 

यता, दुर्घटनालगत्तै टिपरसहित चालक फरार भएका छन् । डीएसपी बोगटीका अनुसार नम्बर खुल्न नसकेको टिपर र चालक दुवैको खोजीकार्य भइरहेको छ ।

 

अत्याधिक स्पिडमा रहेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको डीएसपी बोगटीले बताए । उनले भने, ‘कलङ्की आसपास क्षेत्रको सीसीटिभी क्यामेरा हेर्दैछौँ ।’

 

मृतकहरुको शव त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।