काठमाडौंको तापक्रम शून्यमा झर्यो

December 26, 2019 |Pahiloclick

 

काठमाडौं: काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो ।

 

मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री थियो । त्यसको ३ घण्टापछि गरिएको अर्को मापनमा अझै घटेर ०.९ पुगेको छ । दिउँसोको समयमा भने तापक्रम बढ्ने मौसमविद्को प्रक्षेपण छ । मौसमविद्का अनुसार, आज काठमाडौंको अधिकतम तापक्रम १६.७ डिग्री सेन्टिग्रेडसम्म उक्लन सक्छ ।

०.९ काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो । बुधबार पुस ९ गते काठमाडौंको न्यूनतम तापक्रम २.९ मापन भएको थियो । मौसमविद् शाक्यका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ ।

 

महाशाखाको बिहीबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ । डडेल्धुरा, वीरेन्द्रनगर, दीपायल, ओखलढुंगासँगै ताप्लेजुङमा पनि चिसो बढेको छ । महाशाखाका अनुसार, डडेल्धुरामा १.७, वीरेन्द्रनगरमा २, दीपायलमा ३.५, ओखलढुंगामा ३.५ र ताप्लेजुङमा ४.४ सेन्टिग्रेड न्यूनतम तापक्रम छ ।