भ्याटले साना यातायात व्यवसायी मारमा

December 22, 2019 |Pahiloclick

निजगढ: बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सिर्जना भएको हो । सरकारले ऐन संशोधनमार्फत चालू आर्थिक वर्षदेखि नै साना तथा ठूला मालवाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो ।

 

यस क्षेत्रबाट दैनिक करिब एक हजारको हाराहारीमा लोड हुने गरेका मालवाहक सवारी साधन अहिले करिब सयवटामात्र लोड हुने गरेको यातायात व्यवसायी खडकप्रसाद मैनालीले बताए । भ्याट तथा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता नभएका सवारी साधनहरुलाई मालवाहक सामान ओसारपसारमा रोक लगाउने निर्णय गर्नाका साथै भाडा भुक्तानी नगर्न निर्देशन दिएपछि मालवाहक सवारी साधनमा सामान लोड अनलोड नभएको मैनालीको भनाइ छ ।

 

सरकारले सहजीकरण गरिदिए आफूहरु कर तिर्न तयार रहेको यातायात व्यावसायी मैनालीले बताए । भ्याटमा जाने प्रक्रियामा साना यातायात व्यवसायीहरुलाई महासङ्घले कुनै जानकारी नगराएका कारण आफूहरु मारमा परेको स्वतन्त्र चालक समाज नेपालका अध्यक्ष वसन्त शर्माले गुनासो गरे । मालवाहक सवारी साधनमा भ्याट लगाउँदा ठूला सवारी साधनलाई असर नपरे पनि आफूहरु निकै मारमा परेको शर्माको भनाइ छ ।

 

अधिकांश यातायात व्यवसायी सामान्य लेखपढ गर्न नसक्ने भएका कारणसमेत भ्याट कसरी काट्ने तथा खुद्रा वस्तुको बिलिङ कसरी गर्ने भन्ने विषयमा समस्या आउने शर्माको भनाइ छ ।

 

हाल देशभर २४ वटा मालवाहक यातायात व्यावसायी सङ्घ रहेका छन् भने ती सङ्घमा करिब ६५ हजारभन्दा बढी यातायात व्यवसायीहरु आबद्ध रहेका छन् । उनीहरुले पटक पटक सरकारसँग भ्याट लागू गर्ने विषयमा छलफल गरेको बताएका छन् ।

 

अर्थमन्त्री डा युवराज खतिवडाले मध्यमार्गी बाटो खोजेर सुरक्षित अवतरण गर्ने बताए पनि सहजता प्रदान गर्न नसकेको भन्दै उनीहरुले पटक पटक आन्दोलनका कार्यक्रमहरुसमेत गरिरहेका छन् ।