भारत जान लागेको २० जना बालकको उद्धार

December 22, 2019 |Pahiloclick

धम्बोझी: अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ ।

 

सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए । उनले भने, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ ।” उनका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ ।

 

हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए ।

 

जमुनाहा इलाका चौकी कार्यालयका माधव रिजालले धेरै बालबालिका भारत जान लागेको भेटिएपति शङ्का लागी रोकिएको उनले बताए ।“सँगै जान लागेका एक जना बालकले बिमारी छु भन्दै ढाँट्यो र सबैले एउटै कुरा गर्दा उनीहरुको वास्तविकता खुल्यो ।”

 

सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेका बेलामा गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जमा एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् ।

 

आर्थिक वर्ष २०७५÷७६ मा ४२ बालक र १० बालिका गरी ५२ जना बेवारिसे अवस्थामा फेला परेका हुन् । आव २०७४÷७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए ।