सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

December 15, 2019 |Pahiloclick

 

चौतारा : कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

 

लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

 

दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नंको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ ।

 

दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ ।

 

 

दुर्घटनामा १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएकोे र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।