सर्वोच्चले गर्यो इम्बोस्ड नम्बर प्लेटविरूद्ध परेको रिट खारेज

December 13, 2019 |Pahiloclick

 

काठमाडौँ: सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। सर्वोच्चको यो आदेशसँगै झन्डै २ वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको छ।

देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको भन्दै सर्वोच्चमा रिट हालिएको थियो।

उनको रिटमाथि प्रथम सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले गत वर्षको फागुन १० गते ‘अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागु नगर्न’ अन्तरिम आदेश दिएको थियो।

सोही मुद्दाको अन्तिम निर्णय शुक्रबार भएको हो। अदालतले अन्तरिम आदेश दिनु अघि करिब ४ हजार ६ सयवटा सवारी साधनमा मात्र नम्बर प्लेट जडान भएको थियो।