आज उच्च भूभागमा भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

December 11, 2019 |Pahiloclick

काठमाडौँ : आज देशका केही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको छ ।

इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएकाले त्यसले प्रभावले हिमपात हुने सम्भावना बढेको हो ।

नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन ।

सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ ।

मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।