नेपालमा दुर्घटनाको कहालीलाग्दो स्थिति, पाँच वर्षमा ११,७२४ जनाको मृत्यु

December 8, 2019 |Pahiloclick

 

काठमाडौँ: नेपाल प्रहरीको यो तथ्यांक हेर्ने हो भने नेपालमा हुने दुर्घटनाको कहालीलाग्दो चित्र देखिन्छ। एउटा सडक दुर्घटना भएपछि त्यसबाट कसैले पाठ सिक्दैनन्। त्यही कारण दुर्घटना बढिरहेका छन्।

प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्। आव ०७१/०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका छन् भने ०७२/०७३ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ पुग्यो।

०७३/०७४ मा दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८४ पुग्यो। ०७४/०७५ मा यो संख्या बढेर २ हजार ५४१ पुग्यो। दुर्घटनामा परी २०७५/०७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाए। चालु आवको कात्तिकसम्म दुर्घटनामा ८ सयको मृत्यु भइसकेको छ।

पछिल्लो समय हरेक वर्ष १३ हजारभन्दा बढी दुर्घटना हुने गरेका छन्। आव ०७१/०७२ मा ९ हजार १४५ दुर्घटना भएका थिए भने यो संख्या बढेर ०७२/०७३ मा १० हजार १३ पुग्यो। ०७३/०७४ मा १० हजार १७८ दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ।

०७४/०७५ मा १० हजार ९६५ पुग्यो। ०७५/०७६ मा १३ हजार ३६६ दुर्घटना भए। चालु वर्षको कात्तिकसम्म ५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। यी दुर्घटनामा परी प्रत्येक वर्ष ४ हजारभन्दा बढी मानिस गम्भीर घाइते हुने गरेका छन्। ०७१/०७२ मा ४ हजार ५३, ०७२/०७३ मा ४ हजार १८२, ०७३/०७४ मा ४ हजार २५०, ०७४/०७५ मा ४ हजार १४४, ०७५/०७६ मा ४ हजार ३७६ र ०७६/०७७ कात्तिकसम्म १ हजार ६९२ जना गम्भीर घाइते भएका छन्।

सडक दुर्घटनाको अवस्था चिन्ताजनक रहेको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल बताउँछन्। ‘दुर्घटना क्रमिक रूपमा नियन्त्रण गर्न सबै सरोकारवाला सबै निकायबीच समन्वय हुन अत्यावश्यक छ,’ उनले भने, ‘क्षमताभन्दा बढी यात्रु बोकेकै कारण ८० प्रतिशत दुर्घटना भएका छन्। सरकारले सुरुमै चालकलाई तीनमहिने तालिम दिनुपर्छ।’ यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।