घर छाडेका पुजलाल अझै फर्केनन्

December 6, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

रोल्पा: उनको लिवाङ आउजाउ चलिरहन्थ्यो । श्रीमतीले घर धान्ने, आफू चाहीँ मजदूरी गरेर दुई–चार पैसा कमाउने । अनि, छोराछोरी पढाउने यस्तै, योजनाका साथ रोल्पाको जेल्वाङबाट २०३९ सालमा सदरमुकाम लिवाङ छिरेका पुजलाल बुढामगर २०५६ सालपछि पनि घर फर्कन पाएका छैनन् ।

 

पाँच वर्ष मजदूरी काम गरे । पक्की घर बनाउने काममा दक्ष मिस्त्रीलाई सघाउँथे उनी । मिस्त्रीसँगको सङ्गतले उनलाई पनि मिस्त्री बन्ने रहर जाग्यो । विसं २०४५ मा पहिलो पटक मिस्त्री भएर काम गर्न पाए । त्यतिबेला उनको दैनिक ज्याला २० रुपैयाँ थियो । सदरमुकाममा कोठा भाडा लिएर बसेका उनले खाने बस्ने सबै त्यही पैसाले धान्थ्यो । विसं २०५२ सालदेखि सशस्त्र द्वन्द्व शुरु भयो । मजदूरी गरेर खाने पुजलाललाई राजनीतिको उति मतलब थिएन । विसं २०५६ सम्म त गाउँमा आउजाउ भइरहेकै थियो ।

 

सदरमुकाम आउजाउ गर्नेलाई त्यतिबेला विद्रोही माओवादीले सरकारी सुराकी भन्थे । उनलाई गाउँमै बस्न धेरैचोटि प्रस्ताव नआएको हैन तर, उनी त्यो प्रस्तावमा सहमत भएनन् । गाउँमै बस्दा २÷४ पैसा देख्न पनि नपाइने र आफूले सिकेको शीपको सदुपयोग नहुने भएपछि उनी लिवाङ–जेल्वाङ आवतजावत गरिरहन चाहन्थे । विद्रोही माओवादीले भने सकेसम्म लिवाङ नजाओस्, गइहाले जेल्वाङ नफर्कोस् भन्ने चाहन्थे । यसरी चलिरहेको थियो पुजलालको दैनिकी । विसं २०५६ मा जेल्वाङमा रहेको प्रहरी चौकी विस्थापित भयो । अब माओवादी विद्रोहीको एकछत्र राज चल्ने भयो । सरकारको उपस्थिति शून्य भए पछि पुजलाल पनि सधैंका लागि जेल्वाङ छोड्न वाध्य भए ।

 

अहिले उनको उमेर ६० पुगिसकेको छ । मिस्त्री काम सिकेपछि सदरमुकाम लिवाङमा मात्रै उनले १०० भन्दा बढी घर निर्माण गरिसकेका छन् । साठी वर्ष पुगे पनि पुजलालको जाँगर घटेको छैन । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म श्रीमतीसँगै मजदूरी गर्न जान्छन् । दुःख परेका, बिरामी भएका र ठूला चाडपर्व आएका बेला बाहेक अरु समय उनलाई खाली बस्नुपरेको छैन ।

 

अहिले उनको दैनिक ज्याला ९०० रुपैयाँ छ । दुई छोरा र एउटी छोरी सदरमुकामकै बोर्डिङ स्कूलमा पढ्छन् । आफू जीवनभर मजदूर भए पनि छोराछोरीलाई इन्जिनीयर बनाउने धोको छ उनको । “कमाएको धेरै पैसा छोराछोरीको पढाइमा खर्च गरेको छु,” पुजलालले भने – “म जस्तै मजदूर हैन प्रविधिज्ञ होऊन भन्ने चाहना छ ।”

 

पुजलालले रोल्पा सदरमुकाम लिवाङमा काम गर्न लागेको ३७ वर्ष पूरा भइसकेको छ । यस अवधिमा उनले सदरमुकाम लिवाङमा १५ लाखमा एउटा घडेरी पनि लिएका छन् । आफू जन्मे हुर्केको गाउँ छोड्नु पर्दा उनलाई ठूलो पीडा भएको छ । गाउँमा पैतृक सम्पत्ति कति बाझै छन् त कति । “छिमेकीले भोगचलन गरिरहेका छन्,” पुजलालले भने । सदरमुकाममा घडेरी किने पनि उनको मनमा चैन छैन । “आफ्नो सालनाल गाडिएको गाउँ जतिको प्यारो अन्त हुँदो रहेनछ,” पुजलालले भने । मर्ने बेला जन्मेकै ठाउँमा गएर प्राण त्याग गर्न पाइयोस् भन्ने उनको धोको छ

 

पुजलालका अनुसार उनको गाउँसँगको सम्बन्ध टुटाइदिने दश वर्षे सशस्त्र द्वन्द्व नै हो । उनी जस्तै थुप्रै नागरिक आन्तरिक विस्थापन भएर आफ्नो थातथलो नै छोड्न वाध्य भएका छन् । रोल्पामा मात्रै आन्तरिक रुपमा विस्थापित भएर अहिलेसम्म घर फिर्ता नहुनेको सङ्ख्या १०० भन्दा बढी रहेको द्वन्द्वपीडित सरोकार मञ्च रोल्पाका पूर्व अध्यक्ष पूर्णे पुनमगरको भनाइ छ । थातथलो छोडेको वर्षौ भएका उनीहरुलाई पुनःस्थापनाका लागि राज्यबाट सहयोग नभएको आरोप लगाइने गरेको छ । द्वन्द्वका कारण दशौं वर्ष छाडेको घर भग्नावशेष भइसकेको छ । ती नागरिकको घर फिर्ती अब चुनौतीको विषय बनेको अध्यक्ष पुनमगर बताउछन् । “द्वन्द्वका कारण विस्थापित भएकाहरु अहिले पनि सदरमुकाम लिवाङ, काठमाडौँ, पोखरा जस्ता ठाउँमा मजदूरी गरेर बस्न वाध्य छन्,” पुनले भने ।

 

दश वर्षे सशस्त्र युद्धमा रोल्पाको जेल्वाङमा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने युद्धको समयमा एकै गाउँबाट ७३ जनाले ज्यान गुमाएका थिए । विद्रोही माओवादी पक्षबाट दश जना र राज्यपक्षबाट ६३ जना जेल्वाङीवासीको मृत्यु भएको थियो ।