पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवाको प्रवेशद्वारमा खसेको पहिरो : फोटो रासस
July 26, 2018 |Pahiloclick

रसुवा : टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
गएरातीको पहिरोमा पुरिएर अहिलेसम्म नौ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

मृत्यु हुनेमा नुवाकोटकी ठेगाना खुल्न बाँकी० समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनका ४३ वर्षीय गोसार भनिने मिङमार गोम्बो तामाङ रहेका छन् । यसैगरी पहिरोमा परी सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ मामिङका २७ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, ४२ वर्षीय श्याम श्रेष्ठ र सिन्धुपाल्चोक भोटेकोशी गापा–४ फुलपिङकट्टीका ३५ वर्षीय रेशम भनिने सुस खड्काको पनि मृत्यु भएको छ ।

पहिरो करीब चार किमी माथिबाट खसेको स्थानीयवासीले बताए । सबै सुतिरहेका बेला पहिरो खसेकाले धेरैले ज्यान गुमाएको प्रहरीले बताएको छ ।
पहिरोले एक पक्की घरमा क्षति पुर्याउनुका साथै तीन वटा छाप्रा तथा एक प्रहरीको बिटसमेत पुरिएको छ ।

घाइते भएको १२ मध्ये नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गराई घर फर्किएका र तीन जनाको टाउको तथा खुट्टामा बढी चोट परेकाले थप उपचारका लागि काठमाडौँ ल्याइएको स्वास्थ्यकर्मीले बताएका छन् ।