वसन्तपुरमा पार्किङ गर्न रोक

November 14, 2019 |Pahiloclick

 

काठमाडौं: वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो।

दुई साता अघिबाट त्यहाँकै कर्मचारी र वसन्तुरमा घुम्न आएका पर्यटकले वसन्तपुरको डबली परिसरमा अनधिकृतरूपमा साँझ मोटरसाइकल पार्किङ गर्दै आएका थिए। यसको चौतर्फी विरोध हुँदै आएको थियो।

काठमाडौं महानगरपालिका वडा २३ का अध्यक्ष मचाराजा महर्जनले बैठक बसेर पार्किङ निषेध गर्ने निर्णय गरेको बताए। उनले भने, ‘यो क्षेत्र विश्व सम्पदामा सूचीकृत क्षेत्र हो। चेतनाको कमीले गर्दा पार्किङ बन्न स्थल पुग्यो।’

उनले वसन्तपुर क्षेत्रमा दीर्घकालीनरूपले सवारी साधन पार्किङमा निषेध गर्ने योजनाबारे समेत बैठकमा छलफल भएको बताए। उनले भने, ‘तत्कालका लागि नगर प्रहरी खटाइन्छ। अहिले विभिन्न संरचना बन्दै छ। सबै पूर्वाधार तयार गरिसकेपछि दीर्घकालीनरूपमा यो समस्याको समाधान गछौँ।’

उनका अनुसार रातिको समयमा सुरक्षा गार्ड राखिनेछ। ‘आन्तरिक र बाह्य पर्यटकलाई सहज पार्न हामी जनप्रतिनिधि लागि पछौँ। बिहीबारबाटै सवारी पार्किङ निषेधका लागि चेतनामूलक होर्डिङ बोर्ड राख्ने काम थाल्छौँ। पूर्वाधार तयार गरी हप्ता दिनभित्रमा परिणाम राम्रो आउने गरी काम गर्ने छौँ,’ उनले थपे।
जनशक्ति अभाव भएकाले यस्तो समस्या निम्तिएकोे उनको भनाइ छ।

विश्व सम्पदामा सूचीकृत सम्पदा क्षेत्रमै अनधिकृतरूपमा सवारी पार्किङ गरिएपछि सम्पदाप्रेमीले समेत आपत्ति जनाउँदै आएका थिए। सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले विश्व सम्पदामा सूचीकृत क्षेत्रभित्र पार्किङ गरिनु गलत रहेको बताउँछन्।