छिट्टै चीनको उडान भर्ने तयारीमा निगम

November 4, 2019 |Pahiloclick

काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ ।

 

लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।

 

“निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मङ्सिर महीनादेखि उडान शुरु हुनेछ”, मन्त्रालयका एक अधिकारीले भने ।

 

निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो ।

तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।

सोही बमोजिम निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएशनलाई पठाएको र सोही आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ ।

 

यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ ।

 

निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए ।

 

उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ ।

तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।

 

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ ।

 

हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

 

यसैबीच निगमले आगामी जनवरी महीना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजीकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ ।

 

उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।

 

निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ ।

 

नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ ।

यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ ।

नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।

 

गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो ।

 

निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।