एनआरएनए चुनाव आज, आचार्य र पन्त अध्यक्षको प्रत्यासी

October 16, 2019 |Pahiloclick

 

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृतवका लागि आज काठमाडौंको हायात होटलमा मतदान हुँदैछ ।

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् ।

निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ । साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी गराएको छ । विद्युतीय मतदान भएकाले आज राति नै सम्पूर्ण नजिता आइपुग्ने छ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् । सम्मेलनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलन बिहीबार सकिनेछ ।