नवरात्रको आज छैठौं दिन: कात्यायनी देवीको यस्तो छ महिमा

October 4, 2019 |Pahiloclick

काठमाडौँ: हिन्दु नेपालीहरुको महान चाँड बडा दशैँको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ ।

 

नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास रहेको पाइन्छ ।

 

कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शाष्त्रिय मान्यता रहि आएकोछ ।

 

रम्भाशुरको पुत्र महिषासुर अत्यन्त बलशाली थियो । जसको जन्म पुरुष र भैसीको संयोगबाट भएको थियो,त्यसैले उसको नाम महिषाशुर रहन गयो । उसभित्र कहिले नमर्ने ईच्छा जागरण हुन्छ र ब्रह्माजीको लामो समय सम्म तपस्या गर्दछ । यस प्रकारको कठिन तपस्याबाट खुसि भई ब्रह्मा प्रकट भई के बर माग्नको ईच्छा छ बर माग भन्दा महिषाशुरले अमर रहने(कहलै नमर्ने) बर माग्दछ । ब्रह्मजीले जन्मेपछि मर्नु पर्दछ अरु कुनै बर माग भन्दा धेरै सोचेर मलाई देवता,दैत्य र मानिस कसैले मार्न नसकुन्, म मर्नैपर्छ भने कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस भने बर माग्यो र ब्रह्माजी पनि तथास्तु भनि अन्तध्यान हुनुभयो ।

 

ब्रह्माबाट बरदान पाई सकेपछि बहिषाशुरले आफ्नो बिशाल सेना खडा गरि पाताल लोक र मृत्युलोक जिती राज्य गर्न थाल्यो । त्यसको केही समय पछि त्रिलोकको राजा हुने ईच्छा जागेर देवलोकमा पनि आक्रमण गर्यो । यस युद्धमा देवता,शिब,बिश्नु सबैको हार भयो भने महिषाशुर तिनै लोकमा राज्य गर्न थाल्यो । तिनै लोकमा अत्याचार बढेको बेला भगवान् ब्रह्मा, विष्णु र महेश तीनैजनाले आ–आफ्नो तेजको अंश दिएर महिषासुरको वध गर्नका लागि देवीलाई उत्पन्न गरेका थिए । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका थिए ।

 

यसै कारणले पनि यिनलाई कात्यायनी भनिएको हो । भनिन्छ कात्यायनी देवीले आश्विन कृष्ण चतुर्दशीको दिन जन्म लिएर आश्विन शुक्ल सप्तमी, अष्टमी तथा नवमीसम्म जम्मा तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरेर दशमीको दिन महिषासुरको वध गरेको शाष्त्रमा उल्लेख गरिएकोछ ।